कम दरखास्त परेका डेढ दर्जन जिल्लामा शनिबारसम्म आवेदन दिन पाइने
What you should know
काठमाडौँ — आसन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षार्थ निर्वाचन प्रहरी भर्नाका लागि मागअनुसार आवेदन नआएका डेढ दर्जन जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) ले आवेदनको समय थप गरेका छन् ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा कम आवेदन परेपछि शनिबारसम्म म्याद थप गरिएको सुरक्षा निकायले जनाएका छन् ।
दुवै प्रहरी संगठनले आ–आफ्नो जिल्लास्थित कार्यालयबाट २५ पुसमा निर्वाचन प्रहरी भर्ना खुलाएका थिए । एक साताको समय तोकिएकामा करिब २ लाखको आवेदन परेको थियो । अधिकांश जिल्लामा मागभन्दा बढी आवेदन परेको छ । तर भर्नासम्बन्धी मापदण्डमा नपरेर कतिपय आवेदक छनोट चरणबाटै बाहिरिन्छन् ।
२१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा परिचालन गर्न नेपाल प्रहरीमार्फत १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरीमार्फत १५ हजार १ सय १० जना निर्वाचन प्रहरी भर्ना गर्ने तयारी छ । मंसिर २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षामा १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलाइएकामा दोब्बर अर्थात् २ लाख ३२ हजार ८८ जनाको दरखास्त परेको थियो । वैशाख २०७९ को स्थानीय तह निर्वाचन सुरक्षामा पनि करिब १ लाख म्यादी प्रहरीको आवेदन खुलाउँदा तेब्बर अर्थात् करिब ३ लाखको दरखास्त परेको थियो । ‘यो पटक पहिलेभन्दा बढी आवेदन माग गरियो तर कम आवेदन पर्यो,’ प्रहरीका एक एसएसपीले भने ।
प्रहरीका अनुसार निर्वाचन प्रहरीमा पूर्वम्यादी प्रहरी, पूर्वसुरक्षाकर्मी र वन रक्षकसमेत छन् । आसन्न निर्वाचन सुरक्षाका लागि करिब ३ लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गर्न केन्द्रीय सुरक्षा समिति बैठकले स्वीकृति दिइसकेको छ । जसअनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागबाट करिब १ लाख ८८ हजार जनशक्ति परिचालित हुँदै छन् । यसबाहेक ४० दिन कार्यअवधि तोकेर करिब डेढ लाख निर्वाचन प्रहरी खटाउने तयारी छ ।
निर्वाचन प्रहरीमा भर्ना हुनेले प्रहरी र सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमान र लत्ताकपडा तथा जवानसरहको रासन भत्ता पाउनेछन् । ‘निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (प्रहरी र सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि–२०८२ अनुसार एक निर्वाचन प्रहरीलाई दैनिक ८६९ रुपैयाँ ४० पैसाले हुने ४० दिनको ३४ हजार रुपैयाँ तलब र जिल्ला दर निर्धारण समितिले तोकेअनुसार सुरक्षाकर्मीले पाएसरह ४० दिनको रासन भत्ता (जिल्लाअनुसार फरक–फरक) पाउँछन् ।
निर्वाचनमा खटाइएको ठाउँमा जान र फर्किनलाई एक पटकका लागि प्रतिव्यक्ति ८४६ रुपैयाँ (यातायात भत्ता), चार दिनका लागि प्रतिदिन ३ सय रुपैयाँका दरले खाजा खर्चबापत एकमुष्ट १२ सय रुपैयाँ तथा जिल्लाको मौसमअनुसार प्रहरी र सशस्त्रले त्यस जिल्लामा निर्धारण गरेको पोसाक भत्ताअनुसार एकसरो कपडाको खर्च उपलब्ध गराइने उल्लेख छ । यसरी दिइने सबै रकम सम्बन्धित निर्वाचन प्रहरीको बैंक खातामा पठाइनेछ ।
निर्वाचनमा खटिने यो जनशक्ति कर्तव्य पालनाका क्रममा घाइते भए घाइते स्वयंलाई र मृत्यु भए नजिकको हकवालालाई सरकारले तोकेअनुसारको क्षतिपूर्ति रकम उपलब्ध गराइनेछ । कुनै कारणले निर्वाचन रद्द भए वा स्थगित भए तालिममा रहेको भए पनि नियुक्ति स्वतः रद्द/बदर हुने कार्यविधिमा उल्लेख छ ।
निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिसकेको छ । निर्वाचनमा भित्री घेरा प्रहरी र निर्वाचन प्रहरी, त्यसपछि जोखिमका आधारमा सशस्त्र प्रहरी र बाहिरी सुरक्षा व्यवस्थापनमा सेना खटाउने तयारी छ ।
जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निर्वाचन प्रहरी भर्ना छनोट समिति बनाइएको छ । भर्ना हुन दरखास्त गर्न पाउने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई ५४ वर्ष उमेर ननाघेको हुनुपर्ने मापदण्ड छ ।
साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै दलको सदस्यता नपाएको, शारीरिक र मानसिक रूपमा स्वस्थ, आतंककारी तथा विध्वंसात्मक संगठनको सदस्य नभएको, नेपाली नागरिक हुनुपर्ने योग्यता तोकिएको छ । पुरुषको हकमा कम्तीमा ५ फिट उचाइ, छातीको चौडा ३१ देखि ३३ इन्च, ५० केजी तौल तथा महिलाको हकमा कम्तीमा ४ फिट १० इन्च उचाइ, ४२ केजी तौल र गर्भवती नभएको/नरहेको हुनुपर्ने मापदण्ड छ । छनोट भएका निर्वाचन प्रहरीलाई १० दिन तालिम र ३० दिन फिल्डमा खटाउने गरी भर्ना गर्न लागिएको हो ।
