दाहालले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई प्रत्यक्ष रुपमा जनतासँग भेट हुनेगरी घरदैलो अभियानलाई तीव्रता दिने बताएका हुन् ।
What you should know
काठमाडौँ — नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनको प्रचारलाई जनताको घरदैलो अभियानमा केन्द्रित गर्ने बताएका छन् ।
ठूल्ठूला सभा गर्ने प्रचलन पुरानो भइसकेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई प्रत्यक्ष रुपमा जनतासँग भेट हुनेगरी घरदैलो अभियानलाई तीव्रता दिने बताएका हुन् ।
सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर)सँगको समायोजन कार्यक्रममा बोल्दै उनले युवापुस्तालाई निर्वाचनमा आफ्नो पार्टीप्रति आकर्षित गराउनका लागि सूचना प्रविधिको प्रयोगमा पनि जोड दिने नीति पार्टीले लिने बताए । संयोजक दाहालले विगतमा गरेका गल्ती नदोहोर्याउने बाचासहित पार्टीको निर्वाचन प्रचारमा जुट्न पनि सिंगो पार्टीपंक्तिलाई आह्वान गरे । त्यस अवसरमा उनले काठमाडौं उपत्यकाको सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टी विजयी हुने दाबीसमेत गरे ।
‘चुनाव आउँदैछ, ठूल्ठूला सभा गर्नेतिर भन्दा अब घरघर, टोलटोलमा जनतासँग प्रत्यक्ष भेटघाट गरेर हाम्रा संकल्पहरु, हाम्रा एजेन्डाहरु उनीहरुलाई बुझाउने कुरा महत्वपूर्ण छ । ठूला सभा गरेर भोट धेरै आउने भन्ने जमाना धेरै पुराना भइसक्यो,' उनले भने, ‘हामीले सातवटै प्रदेशमा अपिल त गरिसक्यौ । अब जनताको घरघरमा गएर टोलटोलमा गएर उनीहरुलाई हाम्रा एजेन्डा यी हुन्, हामी पुराना गल्तीबाट सिकेर नदोहोर्याउने गरी चाहेका छौं । र, यो देशको नेतृत्व लिन चाहेका छौं भनेर जनतालाई बुझाउन जरुरी छ ।’
संयोजक दाहालले काठमाडौंको समस्या बुझेका सायमीलगायतका नेता आफ्नो पार्टीमा आएकाले पनि काठमाडौं उपत्यकाका सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले विजयी हुने अवस्था आएको तर्कसमेत गरे ।
