विश्वप्रकाशको प्रश्न : सहमतिका लागि प्रस्तावित ८ बुँदामध्ये कुन बुँदा कांग्रेस र देशको अहितमा थियो र छ ?

'मेरो प्रतिक्रिया केवल यत्ति छ- कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म, दुवै दृढ छौँ । विधान अनुरूपको विशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको छ, अब सहि नेतृत्व दिनेछ !'

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

Question from Bishwa Prakash: Which of the 8 points proposed for consensus was and is in the interest of the Congress and the country?

What you should know

काठमाडौँ — नेपाली कांग्रेसको संस्थापन पक्ष (शेरबहादुर देउवा समूह) ले पार्टी अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूलाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेपछि कांग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको छ । 

सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको देउवा पक्षीय बैठकको यो कदमलाई राजनीतिक वृत्तमा 'अप्रत्याशित' र 'विभाजनकारी' कदमका रूपमा हेरिएको छ ।

विशेष महाधिवेशन आयोजना गरेको र पार्टीको आधिकारिक लाइनविपरीत गतिविधि गरेको भन्दै सहमहामन्त्री फरमुल्लाह मन्सुरमाथि पनि कारबाहीको निर्णय भएको छ ।

आफूमाथि कारबाहीको निर्णय सार्वजनिक भएलगत्तै महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका छन् । उनले आज बिहान मात्रै सहमतिका लागि सभापति देउवा समक्ष प्रस्तुत गरिएका ८ बुँदे प्रस्ताव सार्वजनिक गर्दै प्रश्न गरेका छन्, 'यसमा कुन बुँदा देश र पार्टीको अहितमा थियो ?'

शर्माले अघि सारेका ती ८ बुँदामा मुख्य गरी आगामी निर्वाचनमा एक्लै लड्ने (गठबन्धन नगर्ने), संसदीय बोर्ड गठन गर्ने र प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा जाने प्रस्ताव समावेश छन् ।

कारबाहीको निर्णयलाई सहज रूपमा लिँदै शर्माले गगन थापा र आफू पार्टी रूपान्तरणको अभियानबाट पछि नहट्ने उद्घोष गरेका छन् । उनले लेखेका छन्, 'मुस्कुराउँदै फेरि पढें यी बुँदा, मेरो प्रतिक्रिया केवल यत्ति छ- काँग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म, दुवै दृढ छौँ ।'

उनले विधान बमोजिम सम्पन्न विशेष महाधिवेशनले देशलाई सही दृष्टिकोण दिएको दाबी गर्दै अब पार्टीले सही नेतृत्व पाउने जिकिर समेत गरेका छन् ।

उनको स्टाटस :

आज बसेको संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले भृकुटीमण्डपमा विशेष महाधिवेशनमा सहभागी भएका उनीहरुलाई कारबाही गर्ने निर्णय गरेको हो ।

विशेष महाधिवेशनले सभापतिमा गगन थापा र दुई महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसहित नयाँ पदाधिकारी चयनको प्रक्रिया अगाडि बढाएको छ । योसँगै नेपाली कांग्रेस औपचारिक रुपमा विभाजनतर्फ अघि बढेको छ ।

 

 

कान्तिपुर संवाददाता

Link copied successfully