सभापतिमा उनको नाम मात्रै परेकाले विशेष महाविधेशनबाट उनी निर्वाचित भएको घोषणा गरिएको हो ।
What you should know
काठमाडौँ — नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् ।
सभापतिमा उनको नाम मात्रै परेकाले विशेष महाविधेशनबाट उनी निर्वाचित भएको घोषणा गरिएको हो ।
त्यस्तै, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका हुन् ।
गगनको राजनीतिक इतिहास
राजनीतिमा गगन थापाको पहिचान त्रिचन्द्र क्याम्पसमा नेविसंघको नेताबाटै सुरु भएको हो, जति बेला उनी आईएस्सी पढ्दै थिए । २०५१ मा स्ववियु सदस्य निर्वाचित भएका उनी दुई वर्षपछि सभापति भए । २०५७ मा नेविसंघको उपाध्यक्ष र २०५९ मा महामन्त्री बने । उनी महामन्त्री भएकै बेला भएको विद्यार्थी आन्दोलनका क्रममा राजद्रोहको आरोपमा पटक–पटक पक्राउ परेका थिए ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि त्यसविरुद्ध १ पुस २०६० मा भएको विद्यार्थी आन्दोलनमा नारा घन्काउँदा सूर्यबहादुर थापा नेतृत्वको तत्कालीन सरकारले नेविसंघका तत्कालीन अध्यक्ष गुरुराज घिमिरे, महामन्त्री थापा र अनेरास्ववियुका नेता पुरुषोत्तम आचार्यलाई राजद्रोहको आरोपमा पक्राउ गर्यो ।
गगनले २०५९ देखि नै गणतन्त्रको मुद्दा बोकेका थिए । यसका लागि उनलाई पार्टी नेतृत्वले तर्साएको थियो । तर २०६२ को भदौमा सम्पन्न महाधिवेशनबाट कांग्रेसले आफ्नो विधानबाट ‘संवैधानिक राजतन्त्र’ मान्ने प्रतिबद्धता फिर्ता गर्यो । त्यसपछि भएको २०६२/०६३ को जनआन्दोलनमा गगन विद्यार्थी नेताका तर्फबाट अग्रपंक्तिमा थिए । जनआन्दोलनताका शान्तिवाटिकामा उनले ढुंगा हान्दै गरेको फोटो अहिले पनि बेला–बेला सामाजिक सञ्जालमा देखिने गरेको छ ।
जनआन्दोलनको सफलतापछि २०६४ मा भएको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट थापा संसद् छिरे । गगन त्यतिबेला नेता नरहरि आचार्यको गणतान्त्रिक वैचारिक समूहमा आबद्ध थिए । पार्टीमा आचार्य तत्कालीन सभापति कोइरालाका प्रतिद्वन्द्वी थिए । सिंगो पार्टी परम्परागत संसदीय प्रणालीको पक्षमा अडिग रहँदा आचार्य, थापा, सुप्रभा घिमिरेजस्ता केही नेताले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने शासकीय स्वरूपको पक्षमा वकालत गरेका थिए । उनीहरू समावेशिता, संघीयता र नागरिक अधिकारका सवालमा खुलेर अग्रगामी धारमा थिए । त्यो लाइनमा सम्पूर्ण कांग्रेस समाहित भयो ।
गणतन्त्रको मुद्दाले गगनलाई राष्ट्रिय राजनीतिमा स्थापित गरायो ।
असोज २०६७ मा भएको १२ औं महाधिवेशनबाट थापा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भए । फागुन २०७२ मा भएको १३ औं महाधिवेशनमा नरहरि आचार्य संस्थापन पक्षमा सामेल भइसकेका थिए । सुशील कोइरालाको प्रतिस्पर्धामा उत्रिएका नेता कृष्णप्रसाद सिटौलाको समूहबाट गगनले महामन्त्रीमा प्रतिस्पर्धा गरे । त्यति बेला ससुरा अर्जुननरसिंह केसी देउवातर्फबाट प्रतिस्पर्धी थिए । ससुरा–ज्वाइँ दुवै पराजित हुँदा बीपी पुत्र शशांक कोइराला महामन्त्रीमा विजयी भए । यसपछि सिटौलासँगको सम्बन्ध पनि कमजोर हुँदै गयो र टुट्यो ।
मंसिर २०७८ मा भएको १४ औं महाधिवेशनमा नेता शेखर कोइरालासँग उभिए गगन । कोइराला सभापतिमा पराजित भए पनि गगन महामन्त्रीमा निर्वाचित भए । त्यसपछि उनको सम्बन्ध अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग बाक्लो र कोइरालासँग फितलो भयो ।
