कांग्रेस विशेष महाधिवेशन : मतदान बुधबार राति ८ बजेदेखि

नेपाली कांग्रेस विशेष महाधिवेशनद्वारा गठन गरेको निर्वाचन समितिले एक सूचना जारी गरी मतदान राति ८ बजेदेखि सुरु हुन लागेको जानकारी दिएको हो ।

पुस ३०, २०८२

रासस

Congress Special General Convention: Voting begins at 8 pm on Wednesday

काठमाडौँ — नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नेतृत्व चयनका लागि बुधबार राति ८ बजेदेखि मतदान हुने भएको छ ।

नेपाली कांग्रेस विशेष महाधिवेशनद्वारा गठन गरेको निर्वाचन समितिले एक सूचना जारी गरी मतदान राति ८ बजेदेखि सुरु हुन लागेको जानकारी दिएको हो ।

निर्वाचन समितिका अनुसार प्रथम नामावली प्रकाशन दिउँसो ४ बजेसम्म, उम्मेदवारपछिको दावी विरोध ४:३० बजेसम्म, उम्मेदवारमाथिको दाबी विरोध छानबिन ५ बजेसम्म तोकिएको निर्वाचन समितिका संयोजक, वरिष्ठ अधिवक्ता सिताराम केसीले जानकारी दिए । 

यस्तै, पुन: नामावली प्रकाशन ५:०५ बजेसम्म, उम्मेदवार मनोनयन दर्ता फिर्ता ५:३५ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन ६ बजेसम्म र मतदान सुरु राति ८ बजेदेखि गरिने निर्वाचन समितिका संयोजक केसीले बताए । पार्टीको पुरानै विधानअनुसार हुन लागेको निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र १२१ सदस्य पदमा मतदान हुनेछ । 

विशेष महाधिवेशनले बनाएको कार्यविधिमा पाँच सदस्यीय निर्वाचन समितिको रहने व्यवस्थाअनुसार वरिष्ठ अधिवक्ता केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको थियो ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६३५ महाधिवेशन प्रतिनिधी रहेका छन् ।

रासस

Link copied successfully