थापाको जवाफ - ‘म सकेसम्म प्रयास गरिरहेको छु। उताबाट कन्फ्लिक्टिङ कुरा आइरहेका छन्। सभापतिबाट पनि स्पष्ट प्रस्ताव आएको छैन।’
काठमाडौँ — कांग्रेसका ३० केन्द्रीय सदस्यले महामन्त्री गगन थापालाई पार्टी विभाजन रोक्न अधिकतम लचकता अपनाउन आग्रह गरेका छन्। बुधबार थापासँग काठमाडौं पुतलीसडकको एक घरमा भएको छलफलमा पार्टीलाई विभाजन हुनबाट रोक्नुपर्ने ती नेताहरूले बताएका हुन्।
विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया चलिरहेको बेला ३० केन्द्रीय सदस्यको समूहले थापालाई पार्टी विभाजन रोक्नका लागि अधिकतम लचक बन्नुपर्ने बताएका हुन्। बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘महामन्त्री थापालाई पार्टी एकताबद्ध राख्न अधिकतम लचकता अपनाउन आग्रह गरेका छौँ।’
ती केन्द्रीय सदस्यका अनुसार केन्द्रीय समिति र संस्थापन पक्षले विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने, गगन थापालाई आगामी चुनावपछिको प्रधानमन्त्री उम्मेदवार बनाउनुपर्ने लगायतका सर्त राखिएका छन्। सभापति शेरबहादुर देउवाले कार्यवाहकलाई टिकटमा हस्ताक्षर गर्ने जिम्मा दिने लगायतका कुरा पनि मानिसकेको अवस्थामा विभाजन हुन नदिन लचक बन्न केन्द्रीय सदस्यहरूले आग्रह गरेका हुन्।
केन्द्रीय सदस्यहरूको कुरा सुनेपछि महामन्त्री थापाले पार्टी एकताबद्ध राख्न सक्दो प्रयास गरिरहेको तर संस्थापन पक्षबाट सकारात्मक जवाफ नमिलेको बताएका थिए। ‘म सकेसम्म प्रयास गरिरहेको छु। उताबाट कन्फ्लिक्टिङ कुरा आइरहेका छन्। सभापतिबाट पनि स्पष्ट प्रस्ताव आएको छैन,’ थापाले ती नेताहरूलाई भनेका थिए।
छलफलमा पार्टी एकताबद्ध राख्नुपर्ने पक्षका केन्द्रीय सदस्यहरू उदयशम्शेर जबरा, पुष्पा भुसाल, अर्जुन जोशी, राजन केसी, नानू बास्तोला, गोपाल दहित, योगेन्द्र चौधरी, डीला संग्रौला, जानकी सिंहलगायतको उपस्थिति थियो।
