रातभरिमा सहमतिको विन्दुमा पुग्छौं : कांग्रेस नेता घिमिरे

वार्ता प्रक्रिया चलिरेहका कारण केन्द्रीय समितिको बैठक समयमै सुरु हुन नसकेको उनको भनाइ छ ।

पुस २९, २०८२

कान्तिपुर संवाददाता

We will reach a consensus overnight: Congress leader Ghimire

काठमाडौँ — कांग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टीमा पछिल्लो समय देखिएको विवाद समाधानका लागि नेताहरूबीच छलफल र वार्ता सकारात्मक रूपमा अघि बढेको बताएका छन् । 

पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुनुअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले पार्टीका नेताबीच विवाद समाधानका लागि छलफल जारी रहेको जानकारी दिए । पार्टीको निवर्तमान प्रमुख सचेतकसमेत रहेका घिमिरेले भने, 'वार्ता चलिरहेको छ, वार्ताले एउटा आकार लिन्छ भन्नेमा हामी विश्वस्त छौँ । आज रातभरिमा एउटा सहमतिको विन्दुमा पुग्छौँ, भोलि पार्टीलाई एक भएर अगाडि बढाउँछौँ ।'

वार्ता प्रक्रिया चलिरेहका कारण केन्द्रीय समितिको बैठक समयमै सुरु हुन नसकेको उनको भनाइ छ । दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक यो समाचार तयार गर्दासम्म सुरु हुन सकेको छैन । 

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौंको भृकुटीमण्डपमा यही पुस २७ गतेदेखि आयोजना गरेको विशेष महाधिवेशनको बन्दसत्र अझै जारी छ । 

कान्तिपुर संवाददाता

Link copied successfully