'केन्द्रीय कार्यसम्पादन समितिले अहिले विशेष महाधिवेशनको सान्दर्भिकता छैन भनेको छ,' ज्ञानेन्द्रबहादुर कार्कीले भने, 'अहिले मुलुकलाई स्थिरता दिने निर्वाचन हो । निर्वाचन पछि वैशाखमा नियमित महाधिवेशन हुन्छ ।'
What you should know
काठमाडौँ — नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले अहिले भइरहेको विशेष महाधिवेशनको सान्दर्भिकता नभएको बताएका छन् । सोमबार पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलपछि बाहिरिँदै उनले मुलुकलाई स्थिरता दिने निर्वाचन भएको समेत बताए ।
'पार्टी स्थापित मानयताहरु अनुसार अगाडि बढ्नुपर्ने कुरामा छलफल भएको छ । केन्द्रीय कार्यसम्पादन समितिले अहिले विशेष महाधिवेशनको सान्दर्भिकता छैन भनेको छ,' कार्कीले भने, 'अहिले मुलुकलाई स्थिरता दिने निर्वाचन हो । निर्वाचन पछि वैशाखमा नियमित महाधिवेशन हुन्छ ।'
यद्यपि पार्टीमा सहमति, संवाद र एकताको ढोका सदैव खुला रहेको समेत उनले बताए ।
'कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट सम्पूर्ण नेता, प्रतिनिधिलाई आजै अपिल प्रकाशित भएको छ,' उनले भने, 'पार्टीलाई एकजुट बनाएर लिएर गएर अहिलेको स्थितिमा, देशलाई अहिलेको संकटबाट मुक्त गरेर जनताको चाहना अनुसार नेपाली कांग्रेस अघि बढ्छ ।
यस्तै, सहमहामन्त्री महेन्द्र यादवले पनि देउवा निवासको छलफलमा एकताका लागि आह्वान गरेको बताए ।
निर्वाचन पछि वैशाखका लागि तोकिएको नियमित महाधिवेशन गर्नुपर्नेमा छलफल भएको उनले बताए ।
सभापति शेरबहादुर देउवाले सोमबार आफूनिकट नेताहरुसँग छलफल तीव्र पारेका छन् ।अहिले पनि देउवा निवासमा छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, जीवन परियार, बद्री पाण्डे, मोहन बस्नेत, प्रकाशमान सिंह, विमलेन्द्र निधि, प्रकाशशरण महतलगायतका नेताहरु सहभागी छन् । बैठकबाट शेखर काेइराला र शशांक काेइराला भने बाहिरिएका छन् ।
यता भृकुटीमण्डपमा भने आज आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र जारी छ । विशेष महाधिवेशन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा जारी छ । महामन्त्रीद्वय थापा र शर्माले प्रस्तुत गरेको छुट्टाछुट्टै प्रतिवदेनमाथि छलफल गर्न प्रतिनिधिहरुका ९ वटा समूह गठन गरिएको छ ।
