संयुक्तको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रदेखि जिल्ला तहसम्म परिचालन कमिटी बनाई निर्वाचनको तयारीमा लाग्न निर्देशन गरेको छ ।
काठमाडौँ — नेकपा संयुक्तले फागुन २१ मा हुने निर्वाचनका लागि अध्यक्ष चन्द्रदेव जोशी र कार्यवाहक अध्यक्ष घनश्याम भुसालको संयोजकत्वमा एक हजार एक सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
संयुक्तको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रदेखि जिल्ला तहसम्म परिचालन कमिटी बनाई निर्वाचनको तयारीमा लाग्न निर्देशन गरेको छ ।
त्यस्तै, संयुक्तले आगामी निर्वाचनमा पार्टीका धारणा स्पष्ट रुपमा राख्नका लागि घोषणापत्रमा राख्नु पर्ने विषय लिखित रुपमा पठाउन हुनका लागि सबै तहबाट सुझाव मागेको छ ।
बैठकले प्रत्यक्षतर्फको उमेदवारीका लागि मापदण्ड तोकेको छ । निर्वाचन कानुन अनुसार अयोग्य नरहेको, समाजमा राम्रो छवि भएका, पार्टीप्रति बफादार, युवालाई प्राथमिकता दिने मापदण्ड बनाएको छ ।
‘प्रदेश कमिटीले गरेको सिफारिसकै आधारमा उमेदवार चयन गरिने छ । यसर्थ निम्नलिखित मापदण्डलाई ख्याल गरी प्रत्यक्षतर्फको उमेदवारीका लागि तयारी गर्नुहुन विशेष अनुरोध छ’ तल्ला कमिटीमा पठाइएको सर्कुलरमा भनिएको छ ।
राष्ट्रिय सम्मेलन सर्यो
पार्टीको बैठकले २०८२ साल माघ ३ र ४ गते राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेकोमा माघ ६ गते प्रतिनिधिसभाको निर्वाचनका लागि उमेदवारी दाखिला हुने दिन भएकोले महाधिवेशन स्थगित गरेको छ । ‘हाललाई तोकिएको राष्ट्रिय सम्मेलन अर्को मितिमा गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ । त्यसैले निर्वाचनपछि उपयुक्त समयमा राष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय गरिएको छ’ नेकपा संयुक्तको निर्णयमा भनिएको छ ।
