जसपा नेपाल-लोसपा एकता, अध्यक्ष यादव र संरक्षकमा ठाकुर

अब पार्टीको अध्यक्ष उपेन्द्र यादव र संरक्षकमा महन्थ ठाकुर रहने सहमति भएको छ । काठमाडौंमा भएको सम्झौताअनुसार जसपा नेपाललाई एकीकृत रूपमा सञ्चालन गर्न ४३ सदस्यीय केन्द्रीय समन्वय समिति बनाइएको छ ।

पुस २८, २०८२

कान्तिपुर संवाददाता

Jaspa Nepal-Lospa unity, President Yadav and Patron Thakur

What you should know

काठमाडौँ — जसपा नेपाल र लोसपाबीच पार्टी एकता भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरले आइतबार एकता सम्झौतामा हस्ताक्षर गरे । एकतापछि पार्टीको नाम जसपा नेपाल र चुनाव चिह्न छाता रहनेछ । 

अब पार्टीको अध्यक्ष उपेन्द्र यादव र संरक्षकमा महन्थ ठाकुर रहने सहमति भएको छ । काठमाडौंमा भएको सम्झौताअनुसार जसपा नेपाललाई एकीकृत रूपमा सञ्चालन गर्न ४३ सदस्यीय केन्द्रीय समन्वय समिति बनाइएको छ । सोही समितिले ११ सदस्यीय सचिवालय गठन गर्नेछ । जसपा नेपाल र लोसपाबीच १३ पुसमा पार्टी एकीकरण गर्ने सहमति भएको थियो । 

हाल केन्द्रीय समन्वय सदस्यमा महन्थ ठाकुर, उपेन्द्र यादव, अर्जुन थापा, अशेश्वर यादव, उमाकान्त झा, चन्देश्वर पासवान, जितेन्द्रप्रसाद सोनार, उमेश यादव, तारा विश्वकर्मा, दीपक कार्की, निर्जला राउत, प्रकाश अधिकारी र परमेश्वर साह चयन भएका छन् । यस्तै, बलवीर नेपाली, वृषेशचन्द्र लाल, डा.विजयकुमार सिंह, विनोदकुमार सिंह, मृगेन्द्रकुमारसिंह यादव, मिनषकुमार मिश्र, मुकेशकुमार झा, मो. खालिद सिद्धिकी, रेणुकुमारी यादव, रमेशप्रसाद कुर्मी, रामकुमार शर्मा, राजकुमार राई, रकम चेम्जोङ र लालबाबु राउत पनि केन्द्रीय समन्वय सदस्यमा छन् । 

अन्य सदस्यमा लाक्पा शेर्पा, लक्ष्मणलाल कर्ण, शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ला, डा. सुरेन्द्रकुमार झा, डा. शिवजी यादव, डा. सुरेन्द्रकुमार यादव, सुरेश मण्डल र सुनी लामा चयन भएका छन् । यस्तै, हृदयेश त्रिपाठी, हरिनारायण यादव, लालकिशोर साह, चन्देश्वरप्रसाद सिंह, प्रमिला यादव, जैनुल राइन र लीलादेवी सिटौलालाई पनि केन्द्रीय समन्वय सदस्य चुनिएको छ ।

दुवै पार्टीको केन्द्रीय समिति समायोजन नहुञ्जेलसम्मका लागि केन्द्रीय समन्वय समिति नै संगठन सञ्चालन, परिचालन, निर्देशन तथा निर्णायक समितिको भूमिकामा रहने सम्झौतामा उल्लेख छ । त्यस्तै यसअघि दुवै पार्टी मातहतमा रहेका सबै तह र निकाय तथा भ्रातृ र शुभेच्छुक संगठनहरूको परिचालन केन्द्रीय समन्वय समितिले गर्नेछ । 

पार्टी संगठन र पार्टीप्रति आबद्ध संगठन समायोजन नहुञ्जेलसम्म आआफ्नो स्थान र कार्यक्षेत्रमा पार्टीको मातहत रही क्रियाशील रहन पनि सहमतिमा भनिएको छ । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा चुनावमा उम्मेदवारका लागि पेस गरिने मनोनयनपत्रमा संरक्षक ठाकुर र अध्यक्ष यादवले संयुक्त रूपमा हस्ताक्षर गर्ने पनि सम्झौतामा भनिएको छ ।

कान्तिपुर

Link copied successfully