बन्दसत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्ताव र प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।
काठमाडौँ — भृकुटीमण्डपमा जारी कांग्रेस विशेष विशेष महाधिवेशनको अध्यक्षता ज्येष्ठ महाधिवेशन प्रतिनिधिले गर्ने भएका छन् ।
बन्दसत्र भरखरै सुरु भएको छ । महाविधेशन प्रसारप्रसार समितिका संयोजक सुवास पोख्रेलले ८८ वर्षीय महाविधेशन प्रतिनिधि श्यामकुमार खड्काले अध्यक्षता गर्ने बताए । उनी काठमाडौं क्षेत्र नम्बर ८ का प्रतिनिधि हुन ।
कास्की जिल्लाका सभापति किशोरदत्त बरालले बन्दसत्र सञ्चालन गर्नेछन् । कानुनी व्यवसायीसमेत रहेका महाविधेशन प्रतिनिधि नारायणप्रसाद भट्टराईले कार्यविधि पढेर सुनाएपछि बन्दसत्र सुरु हुने पोख्रेलले बताए । कार्यविधि पारित भएसँगै बन्दसत्र अघि बढ्ने उनले जनाए ।
बन्दसत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्ताव र प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । पोखरेलले महामन्त्रीहरुले ४ वटा विषयमा प्रतिवेदन पेस हुने बताए । ‘समसामयिक राजनीतिक समीक्षा, पार्टीको नीति, विधान संशोधन र परिमार्जनका विषयमा प्रतिवेदन पेस हुन्छन्,’ उनले भने । त्यसपछि छलफलका लागि ९ वटा समूह विभाजित गरिनेछ । समूहले नेता चयन गरेर डेढ घण्टासम्म छुट्टाछुट्टै स्थानमा छलफल गर्ने कार्यतालिका छ । ती समूहलाई बन्दसत्रमा निष्कर्ष सुनाउन १०/१० मिनेटको समय विभाजन गरिएको छ ।
विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवालगायत संस्थापन पक्षका नेता कार्यकर्ता सहभागी छैनन् । आइतबार भृकुटीमण्डपमा नै उद्घाटनसत्र भएको थियो । त्यहाँ २ हजार ६ सय ६२ प्रतिनिधि सहभागीले नाम दर्ता गराएको दाबी गरिएको छ । कांग्रेसमा ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि रहेका छन् ।
