कांग्रेस विवाद : मध्यमार्गी प्रस्तावमा छलफल जारी

विश्वकर्माले भने, ‘केही दिनअघि नै मैले यो प्रस्ताव राखेको थिएँ, तर त्यसमा सहमति जुटिसकेको थिएन। अहिले पनि यही वरपर सहमति खोज्ने प्रयास जारी छ।’

पुस २८, २०८२

कान्तिपुर संवाददाता

Congress controversy: Discussions continue on moderate proposal

What you should know

काठमाडौँ — विशेष महाधिवेशनको बन्द सत्र सुरु भइरहँदा कांग्रेसमा सहमतिका लागि अन्तिम कसरत पनि जारी रहेको छ। कांग्रेस नेता मीन विश्वकर्माले मध्यमार्गी प्रस्तावका विषयमा छलफल भइरहेको तर त्यसमा सहमति जुट्न नसकेको बताएका छन्।

उनका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर चल्ने गरी उम्मेदवार छनोट गर्ने, कांग्रेसको तर्फबाट भावी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा गगन थापालाई अघि सार्ने, समानुपातिक उम्मेदवारको सूची परिवर्तन गर्ने, वैशाखमा घोषित महाधिवेशनलाई स्वीकार गर्ने र जारी विशेष महाधिवेशनलाई नीति महाधिवेशनमा रूपान्तरण गर्ने जस्ता विषयलाई मध्यमार्गी प्रस्तावका रूपमा अघि सारिएको छ।

मीन विश्वकर्माले भने, ‘केही दिनअघि नै मैले यो प्रस्ताव राखेको थिएँ, तर त्यसमा सहमति जुटिसकेको थिएन। अहिले पनि यही वरपर सहमति खोज्ने प्रयास जारी छ।’

कान्तिपुरसँगको कुराकानीमा केही नेताहरुले शेखर कोइराला, रमेश लेखक, मीन विश्वकर्मा र ज्ञानेन्द्रबहादुर कार्की मध्यमार्गी प्रस्तावको विषयमा लचक देखिए पनि अन्य शीर्ष नेताहरू भने यसलाई स्वीकार्न तयार देखिएका छैनन्। उनिहरुले कृष्ण सिटौला, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, प्रकाशशरण महत, बालकृष्ण खाँड, एनपी साउदलगायतका नेताहरू यो प्रस्तावमा सहमत नभएको बताए । यि नेताहरुले सभापतिलाई दुई तिहाइ मतले मात्र हटाउन सकिने भएकाले त्यसको सामना गर्दै अघि बढ्नुपर्ने पक्षमा सभापति शेरबहादुर देउवालाई मनाइरहेको पनि उनिहरुले बताए । 

कांग्रेस नेता शेखर कोइराला पनि बिहानदेखि आफ्ना समूहका नेताहरूसँग छलफलमा छन्। उनले आफ्ना समूहका पदाधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला सभापतिहरूसँग परामर्श जारी राखेका छन्। कोइराला निकट सहमहामन्त्री जीवन परियारका अनुसार शेखर कोइराला र सभापति देउवाबीच पनि कुराकानी हुने तय भएको छ। परियारका अनुसार कोइरालाले दुई महामन्त्रीसँग कुरा गर्न खोजिरहेका छन्, तर समय नमिलेकाले थप कसरी अघि बढ्ने भन्ने विषयमा कुराकानी हुन सकेको छैन।

कोइराला निकट नेताहरूले उनलाई विशेष महाधिवेशनमा जान तीव्र दबाब दिइरहेका छन्। तर महामन्त्रीहरूसँग कुरा गरेर विशेष महाधिवेशनको गन्तव्यबारे स्पष्ट भएपछि मात्रै जाने–नजाने निर्णय गरिने परियारले बताए।

कान्तिपुर संवाददाता

Link copied successfully