दाहालले समानुपातिक बन्दसूचिमा पनि युवालाई प्राथमिकतामा राखेको र प्रत्यक्षतर्फ पनि युवा तथा जेन–जी पुस्ताका नवयुवालाई उम्मेदवार बनाउने बताए।
काठमाडौँ — नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनमा पार्टीले युवालाई उम्मेदवार बनाउने बताएका छन्।
जेन–जी रेडफोर्सले आइतबार आयोजना गरेको जेन–जी जागरण तथा वृहत सांस्कृतिक कार्यक्रममा उनले युवालाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउने बताएका हुन्।
दाहालले समानुपातिक बन्दसूचिमा पनि युवालाई प्राथमिकतामा राखेको र प्रत्यक्षतर्फ पनि युवा तथा जेन–जी पुस्ताका नवयुवालाई उम्मेदवार बनाउने बताए। उनले पार्टीको केन्द्रीय समितिमा पनि युवाको उपस्थितिलाई बलियो बनाउने तयारी रहेको जानकारी दिए।
दाहालले भने, ‘हामीले अहिले पार्टी निर्माणको क्रममा होस् वा चुनावमा, समानुपातिक सूची तयार पार्दा होस् वा प्रत्यक्ष निर्वाचनमा पनि युवा र नवयुवा जो जेन–जी पुस्ताका युवाका रूपमा चिनिन्छन्, उनीहरूलाई उच्च प्राथमिकता दिने प्रयास गरेका छौँ।’
उनले जेन–जी पुस्ताकी मुस्कान खातुनलाई अगाडि सारेर हजारौँ–लाखौँ युवालाई सम्बोधन गर्न खोजेको बताए। दाहालले भ्रातृसंस्थाले कार्यक्रम आयोजना गर्दा पूर्व माओवादी शैली नअपनाउन निर्देशन दिएका छन्। उनले अब माओवादी नभएर नेपाली कम्युनिष्ट पार्टीको स्प्रिटमा सबै लाग्नुपर्ने पनि बताए।
