हामी कांग्रेसलाई नयाँ पुस्तालाई भविष्य दिने पार्टी बनाउन चाहन्छौँ : महामन्त्री थापा

'हामी भन्न चाहन्छौँ नौजवानहरुलाई यो त्यही कांग्रेस हो । जसले तिम्रो बा र आमालाई अधिकार दियो तर अब यो त्यही कांग्रेस हो जसले तिमीलाई पनि भविष्य दिन्छ भनेर भन्ने कांग्रेस हामी बनाउन चाहन्छौँ ।'

पुस २७, २०८२

कान्तिपुर संवाददाता

We want to make the Congress a party that gives a future to the new generation: General Secretary Thapa

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरुले कांग्रेसलाई अबको नयाँ पुस्तालाई भविष्य दिने पार्टी बनाउन चाहेको बताएका छन् ।

आइतबार भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा महामन्त्री थापाले कांग्रेस चुनावबाट बनेको पार्टी नभएको बताउँदै कांग्रेस राष्ट्रि शक्ति भएको बताए ।

'कांग्रेस चुनावका लागि बनेको पार्टी हैन । कांग्रेस राष्ट्रिय शक्ति हो । राष्ट्रिय शक्ति र राष्ट्रिय पार्टीमा भिन्नता छ,' उनले भने, 'राष्ट्रिय पार्टी चुनावले निर्धारण गर्छ । कति भोट ल्यायो । कति मत आयो । राष्ट्रिय शक्ति जिम्मेवारीले निर्वाह गर्छ । कांग्रेस राष्ट्रिय शक्ति हो । समाजमा जे समस्या हुन्छ त्यसलाई छाम्ने, चिन्ने, पर्गेल्ने जिम्मा राष्ट्रिय शक्तिको हुन्छ ।'

महामन्त्री थापाले ७ साल, ४६ सालदेखि २०६३ सालका आन्दोलनको प्रसंग निकाल्दै त्यसबेलाको पुस्तालाई अधिकार दिने कांग्रेस भएको र अबको नयाँ पुस्ताको भविष्य पनि कांग्रेस भएको बताए ।

'हामी त्यही कांग्रेस हो जसले अँध्यारोबाट उज्यालोतर्फ लिएर गयो ७ सालमा । हामी त्यही कांग्रेसले २०४६ सालमा त्यत्रो परिवर्तन ल्यायो । यो त्यही कांग्रेस हो २०६३ मा हिंसाबाट देशलाई बाहिर निकाल्यो,' उनले भने, 'तर विगतको दिन गनेर हुँदैन । हामी भन्न चाहन्छौँ नौजवानहरुलाई यो त्यही कांग्रेस हो । जसले तिम्रो बा र आमालाई अधिकार दियो तर अब यो त्यही कांग्रेस हो जसले तिमीलाई पनि भविष्य दिन्छ भनेर भन्ने कांग्रेस हामी बनाउन चाहन्छौँ ।'

कान्तिपुर संवाददाता

Link copied successfully