बालेन्द्रले सोधे– 'म त्यहाँबाट उठ्दा कस्तो प्रभाव पर्ला ?'
What you should know
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाका नेताहरुले काठमाडौं आएर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई सुझाव दिएका छन् ।
रास्वपा झापा जिल्ला सभापति प्रकाश पाठक, सचिव शम्भु ढकाल, क्षेत्रीय संयोजक (झापा ३) का लक्ष्मण बस्नेत, पार्टीको केन्द्रीय उत्पादन प्रबर्धन विभाग सदस्य विरोध सुवेदीसहितका नेताहरुले उनीसँगको भेटमा झापाबाट चुनाव लड्न प्रस्ताव गरेका हुन् । बालेन्द्रले संसदीय राजनीतिमा आउने निर्णय गरेदेखि नै आफू निकटस्थहरुसँग झापा ५ बाट चुनाव लड्ने विकल्पबारे छलफल गर्दै आएका थिए ।
रास्वपा झापाका सभापति पाठकका अनुसार, आइतबार दिउँसो भएको भेटमा मेयर शाहले झापाको वस्तुस्थितिबारे जानकारी लिएका छन् । ‘हामी केन्द्रीय कार्यालयमा भेटघाटका लागि आएका थियौं, त्यसबेला मेयर सा’ब, हाम्रो वरिष्ठ नेता भेटौं भन्ने भयो,’ उनले कान्तिपुरसँग भने, ‘हामीले सम्पर्क गरेपछि उहाँले पनि तुरुन्तै भेटौं भन्नुभयो र झापाको चुनावी माहोलबारे कुराकानी भयो ।’
त्यसक्रममा बालेन्द्रले आफू झापा ५ बाट चुनाव लड्दा कोशी प्रदेशमा कस्तो प्रभाव पर्छ भन्ने जिज्ञासा पनि राखेका थिए । त्यसक्रममा अधिकांशले बालेन्द्र ओलीविरुद्ध लड्दा प्रदेशका अरु जिल्लामा पनि चुनाव जित्न आफ्ना उम्मेदवारहरुलाई सजिलो हुने ब्रिफिङ गरेका छन् । ‘उहाँले पहिल्यैदेखि केपी ओलीविरुद्ध लड्छु भन्दै आउनुभएको थियो, मैले उहाँको कुराकानीमा त्यही कुराको प्रतिबिम्ब पाएँ,’ उनले थपे ।
रास्वपा झापाका सचिव ढकालले पनि बालेन्द्रले झापाबाट चुनाव लड्ने सोच बनाएको पाएको बताए । ‘उहाँले त्यसबारे अध्ययन गरिरहेकोसमेत सुनाउनुभयो, त्यस्तोमा चुनाव लड्नै परेपछि ओलीसँगै लड्ने खालका कुरा भए,’ उनले भने, ‘त्यसबाहेक पार्टीका सांगठानिक विषयहरुमा समेत छलफल भए, गुटगत राजनीति त्यागेर सबै एक भएर काम गर्नुपर्ने समेत उहाँले बताउनुभयो ।’
सभापति रवि लामिछानेसँग लामिछानेले पार्टी नेतृत्व र बालेन्द्रले सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । त्यसयता बालेन्द्रलाई रास्वपाले वरिष्ठ नेता बनाएको छ । पार्टीको झापा प्रतिनिधिहरुसँगको यो भेटचाहिँ बालेन्द्रका साथी कुमार बेनको ज्वागलस्थित निवासमा भएको थियो । रास्वपासँग छलफल सकरात्मक दिशामा नगएका बेला उनले यहीँ विभिन्न क्षेत्रका व्यक्तिहरुसँग भेटघाट तीव्र बनाएका थिए । पछि रवि–बालेन्द्र एक ठाउँमा उभिएर जाने सहमति भएको थियो ।
