एमाले महाधिवेशनमा ८ करोड खर्च

शनिबार बसेको केन्द्रीय कमिटीको दोश्रो बैठकले पार्टी नियमावलीमा आवश्यक संशोधन र केन्द्रीय सचिवालय बैठकले गरेका निर्णयको अनुमोदन गरेको केन्द्रीय प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिए।

पुस २६, २०८२

कान्तिपुर संवाददाता

80 million spent on UML general convention

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । ललितपुरमा आज बसेको बैठकमा ११औँ राष्ट्रिय महाधिवेशनमा भएको खर्च विवरण सार्वजनिक गरिएको हो ।

बैठकमा पार्टीको दोस्रो विधान महाधिवेशन र ११औँ राष्ट्रिय महाधिवेशनले पार्टी विधानमा गरेको संशोधनमा आधारित रहेर पार्टी नियमावलीमा आवश्यक संशोधन र केन्द्रीय सचिवालय बैठकले गरेका निर्णयको अनुमोदन गर्दै सम्पन्न भएको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिए।

उनले बैठकमा ११औँ राष्ट्रिय महाधिवेशनमा भएको खर्च विवरणअनुसार करिब आठ करोड खर्च भएको बताए। यस्तै, बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण गरे।

बैठकमा भयरहित वातावरणमा निर्वाचन गराउन ध्यानाकर्षण गराइएको प्रचार विभाग प्रमुख शाहीले बताए। पार्टीले संसद् पुनःस्थापनाको एजेन्डा र निर्वाचनलाई सँगसँगै लैजाने निर्णय गरेकोसमेत उनले जानकारी दिए। 'निर्वाचनको प्रभावकारी वातावरण अझै बनिनसकेको हुनाले संसद् पुनःस्थापना र निर्वाचनको एजेन्डालाई सँगसँगै लिएर जाने निर्णय भएको छ,' उनले भने।

बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले महाधिवेशनले ३१ प्रतिशत नयाँ अनुहारलाई नेतृत्वमा ल्याएको बताउँदै ३४ प्रतिशत नेता ५० वर्षभन्दा कम उमेरका रहेका जानकारी दिए। बैठक तीन दिनसम्म सञ्चालन गर्ने भनिए पनि निर्वाचनको तयारी गर्नुपर्ने भएकाले आज मात्र बसेको हो। 

कान्तिपुर

Link copied successfully