उज्यालो नेपाल पार्टी एक्लै चुनाव लड्छ : अध्यक्ष घिसिङ

पार्टीले १६५ क्षेत्रमै उम्मेदवार उठाउने र इच्छुकहरुसँग सहकार्य गर्ने उनले दाबी गरे ।

पुस २६, २०८२

कान्तिपुर संवाददाता

Ujjaya Nepal Party will contest elections alone: ​​Chairman Ghising

What you should know

काठमाडौँ — उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी एक्लै चुनावी प्रतिस्पर्धामा जाने बताएका छन् । पार्टी कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीले १६५ क्षेत्रमै उम्मेदवार उठाउने र इच्छुकहरुसँग सहकार्य गर्नेसमेत दाबी गरे ।

उनले पार्टीको सदस्यता आजै लिएको र आजै अध्यक्ष चयन गरेको दाबी गर्दै अब पार्टीको संगठन बनाउन रातदिन खटिने दाबी गरे ।

उनले आगामी दिनमा आफ्नो नेतृत्वमा देशव्यापी रूपमा प्रभावकारी बनाएर अघि बढाउने दाबी गरे । उनले दुई महिनाअघि पार्टीको नेतृत्वमा भएकासहित सबैलाई धन्यवादसमेत दिए । 

अध्यक्ष घिसिङले रास्वपासँग पुस १४ मा सहमति गरेपछिका १२ दिन अत्यन्तै पीडादायी भएकोसमेत बताए । उनले एकतर्फी रूपमा रास्वपाले सहमति भंग गरेको पनि बताए । ‘हामीले केही बार्गेनिङ गरेका थिएनौँ । म उपाध्यक्ष तल वरीयता भएपनि गएको थिए । आज अन्तिम पटक मैले सहमतिको प्रयास गरेका थिएँ । साधारण सदस्य भएर बस्छु भनेको थिए,’ उनले भने, ‘केही साथीहरूलाई केन्द्रीय सदस्यमा मिलाऔं भनेको थिएँ । समावेशिता, संघीयता र संविधानले देखाएका आधारभूत कुरामा पूरक सम्झौता गरौँ भनेको थिए । तर त्यो हुन सकेन । समानुपातिकका विषयमा पनि लामो समय लिनुभयो ।’

उनले लामो समय रास्वपालाई पर्खनुपर्दा ठूलो क्षति भएको दाबी गरे । उनले अब आफूहरू जेन–जीको भावना अनुसार काम गर्ने गरी अघि बढ्ने दाबी गरे ।

कान्तिपुर

Link copied successfully