रास्वपाले सिद्धान्त र पार्टीको नाम परिवर्तन गर्नुपर्ने चुनावपछिको सरकारमा आफ्नो पक्षलाई निश्चित पद अहिले नै टुंग्याउनुपर्ने जस्ता माग कुलमानले राखेका थिए ।
What you should know
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बनेर आगामी चुनावमा जाने तयारीमा रहेका कुलमान घिसिङ र रास्वपाबीचको सहमति भाँडिएको छ ।
उज्यालो नेपाल पार्टीका संरक्षक घिसिङले पुस १४ मा भएको सहमतिविपरीत माग राखेपछि एकता टरेको रास्वपा स्रोतले बतायो ।
ठोस सहमति गर्ने भन्दै घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच शुक्रबार र शनिबार छलफल भएको थियो । छलफलका क्रममा घिसिङले मुख्यत: ६ वटा विषय राखेका थिए ।
'रास्वपाले सिद्धान्त परिवर्तन गर्नुपर्ने, वरिष्ठ उपसभापति र महामन्त्री आफ्नो पक्षलाई दिनुपर्ने, पार्टीको नाम परिवर्तन गर्नुपर्ने, आफ्नो पक्षका ३० जनालाई केन्द्रीय सदस्य दिनुपर्ने उहाँको प्रस्ताव थियो,' रास्वापमा एक नेताले भने, 'प्रत्यक्ष उम्मेदवारका लागि आफ्नो पक्षको संख्या दिनुपर्ने र उम्मेदवार आफैले चयन गर्न पाउनुपर्ने, चुनावपछि बन्ने सरकारमा आफ्नो पक्षका लागि निश्चित पदहरू अहिले नै टुंग्याउनुपर्ने जस्ता माग राखेपछि थप सहमतिका लागि अघि बढ्नुपर्ने अवस्था रहेन ।'
यस विषयमा घिसिङसहित उनी पक्षका नेताहरूसँग प्रतिक्रिया लिन खोज्दा सम्भव भएन ।
रास्वपा प्रवक्ता मनीष झाले पनि अहिलेलाई एकता नहुने भएको बताए । 'आगामी दिनमा सहकार्य गर्ने गरी अहिलेलाई एकता सम्भव भएन । अहिले नै उम्म्मेदवारको संख्या दिने र तपाईं नै उम्मेदवार टुंग्याउनुस् भन्न सकिएन, कस्ता उम्मेदवार ल्याउनुहोला भन्ने हामीलाई शंका छ,' उनले भने, 'लोकतान्त्रिक सिद्धान्त अपानाएको पार्टी भएकाले अन्य सिद्धान्त लिइराख्नुपरेन । पार्टीको नाम परिवर्तन गर्ने कुरा पनि सम्भव भएन ।'
भविष्यमा मिल्ने बाटो खुलै राखेर अगाडि बढेको उनको भनाइ छ ।
समानुपातिक सूचीमा घिसिङले १८ जनाको नाम बुझाए पनि १४ जना मात्र परेका थिए । उनीहरुको क्रम संख्या पछाडि पारिएको भन्दै घिसिङ असन्तुष्ट थिए । उनले कम्तीमा २० केन्द्रीय सदस्य मागेका थिए तर लामिछानेले ८ देखि १२ मात्र दिन सकिने जवाफ दिएका थिए ।
पुस १४ मा समानुपातिक सूची बुझाउने अन्तिम समयमा उज्यालो नेपाल र रास्वपबीच ७ बुँदे एकता घोषणा भएको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री रहेका घिसिङले बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका थिए । त्यस क्रममा पनि उनले उज्यालो नेपाललाई अगाडि बढाउने अभिव्यक्ति दिएका थिए । रास्वासँगको ७ बुँदे सहमति कार्यान्वयन नभएको र आफू कुनै पार्टीको साधारण सदस्य नरहेको उनको भनाइ थियो ।
