मञ्च निर्माण, हल सजावट तथा प्राविधिक तयारी अन्तिम चरणमा पुग्दै गर्दा प्रतिनिधि र कार्यकर्ताहरूको उपस्थिति बढ्न थालेको हो ।
काठमाडौँ — नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि जिल्ला-जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताहरू भृकुटीमण्डप क्षेत्रमा भेला हुन थालेका छन् ।
देशका विभिन्न जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आइपुग्न थालेसँगै महाधिवेशन स्थल आसपास चहलपहल बढेको हो।
केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले आइतबार र सोमबार हुने विशेष महाधिवेशनका लागि प्रतिनिधिहरू क्रमशः भृकुटीमण्डप पुग्न थालेको बताए। उनले मञ्च निर्माण, हल सजावट तथा प्राविधिक तयारी अन्तिम चरणमा पुग्दै गर्दा प्रतिनिधि र कार्यकर्ताहरूको उपस्थिति बढ्न थालेको जानकारी दिए।
महाधिवेशन व्यवस्थापन समितिका अनुसार हिजोदेखि प्रतिनिधि दर्ता, परिचयपत्र वितरण तथा बसोबास समन्वयसम्बन्धी कामहरू पनि सँगसँगै तीव्र बनेका छन्। प्रतिनिधिहरू आउन थालेसँगै स्वयंसेवकहरू परिचालन गरी स्थल व्यवस्थापनलाई थप चुस्त बनाइएको जनपरिचालन समितिका सदस्य सचिव सुसन वैद्यले जानकारी दिए।
