दाहालले लगाए शर्मालाई ‘भगौडा’को आरोप

‘हिजो जनार्दन हुँदा बरु उदण्ड तरिकाले काम गर्थे । अब त्यसो हुँदैन । पार्टी हेडक्वाटरले तपाईंहरु (रुकुमेली जनता) सँग निकटतम् सम्बन्ध राखेर काम गर्छ, ढुक्क हुनुहोस् ।’

पुस २६, २०८२

महेश केसी

Dahal accuses Sharma of being a 'fugitive'

What you should know

रुकुम पश्चिम — नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले पूर्वसहकर्मी जनार्दन शर्मालाई आन्दोलनबाट भागेको भन्दै ‘भगौडा’को आरोप लगाएका छन् । 

रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोट खलंगामा शनिबार आयोजित पार्टीको एकता सन्देशसभालाई सम्बोधन गर्दै उनले एकतापछि बनेको नेकपातर्फ नगई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका शर्मालाई उक्त आरोप लगाएका हुन् ।  

एकीकृत समाजवादीलगायत विभिन्न दल र घटकसँग एकता गर्दै साविक नेकपा माओवादी केन्द्र नेकपामा रुपान्तरण भएपछि रुकुम पश्चिममा पहिलोपल्ट यस पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव नेपालको उपस्थितिमा सभा भएको हो । तत्कालीन माओवादी केन्द्रका उपमहासचिव एवम् २०६४ पछिका सबै आमनिर्वाचनमा माओवादी केन्द्रमै रहेर यसै क्षेत्रबाट चुनाव जित्दै आइरहेका शर्मा एकतापछि बनेको नेकपातर्फ नगई प्रलोपाबाट राजनीतिक गतिविधि अगाडि बढाइरहेका छन् । 

सभाका प्रमुख अतिथि दाहालले यसअघि रुकुम आउँदा ‘कोही नेता पार्टी छोडेर गए पनि रुकुमेली जनता आफूसँगै रहने’ भनेर जनार्दन शर्माका अघि गरेको भाषण सम्झिँदै भने ‘जनार्दनभन्दा अघि पनि केही नेताहरु पार्टीबाट अलग्गिएकै हुन् । तर जनता साथमै रहे । यसपल्ट उनले छोडे तर रुकुमेली जनता साथमै छन् ।’ साथै उनले जनार्दन शर्मा एकतामा नआउनुमा प्रतिक्रियावादी र साम्राज्यवादीहरुको’ हात रहेको बताए । 

रुकुमेली जनतासँग पार्टी हेडक्वाटर झन् नजिक रहने प्रतिबद्धतासमेत दाहालले जनाए । ‘हिजो जनार्दन हुँदा बरु उदण्ड तरिकाले काम गर्थे । अब त्यसो हुँदैन । पार्टी हेडक्वाटरले तपाईंहरुसँग निकटतम् सम्बन्ध राखेर काम गर्छ, ढुक्क हुनुहोस् ।’ दाहालले आसन्न निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणासमेत गरेका छन् ।

नेकपाका सहसंयोजक माधव नेपालले पनि देशभर आफूहरुको पक्षमा माहोल बनिरहेको बताउँदै ‘भीरमा जाने गाईलाई रामराम भन्न सकिने तर काँध थाप्न नसकिने’ भन्दै जनार्दन लक्षित टिप्पणी गरे ।

एक महिनाअघि प्रलोपाले पनि शर्माको उपस्थितिमा सदरमुकाम खलंगामै ‘युवा प्रशिक्षण’ भनेर कार्यक्रम गरेको थियो । उक्त पार्टीले कार्यालय स्थापनादेखि गाउँ तहसम्म संगठन विस्तारको कामलाई पनि गति दिएको छ । यसबाट पनि दुवै पक्ष आफ्नो शक्ति देखाउने होडबाजीमा लागेको बुझ्न कठिन छैन । 

आसन्न निर्वाचनमा रुकुम पश्चिमबाट नेकपाले पूर्वकर्णाली प्रदेश सांसद एवम् मन्त्री गोपाल शर्मालाई उम्मेदवार सिफारिस गरेको छ भने प्रलोपाले जनार्दन शर्मालाई नै चुनावी मैदानमा उतार्ने निर्णय गरिसकेको छ । केही समयअघिसम्म एउटै संगठन र एकै मञ्चमा देखिने दुई सहकर्मीहरु प्रतिस्पर्धामा उत्रिने भएका छन् ।

प्रस्तावित उम्मेदवार शर्माले आफू र आफ्नो पार्टीको जित सुनिश्चित भएको दाबी गरे । साथै उनले जनार्दनलाई विगतका निर्वाचनमा सहयोग गरेको भन्दै यसपल्ट आफूलाई सहयोग गर्न सार्वजनिक अपिल पनि गरे । उनले जनार्दनलाई नेकपामा फर्किन समेत आग्रह गरेका छन् । 

महेश केसी केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully