कान्तिपुरसँगको कुराकानीमा पौडेलले भने, ‘विशेष महाधिवेशनले परिवर्तनको सन्देश दिन्छ । यी सबै कुरा प्रक्रियामा आधारित हुन्छन् । प्रक्रियामा आधारित भएर अघि बढेपछि विभाजित हुने संभावना हुन्न ।’
What you should know
काठमाडौँ — कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विशेष महाधिवेशनले नेतृत्व चयन गर्ने कि नगर्ने भन्ने कुरा महाधिवेशनले तय गर्ने कार्यविधि र प्रक्रियाले निर्धारण गर्ने बताएका छन् । तर, उनले विशेष महाधिवेशनले पार्टी विभाजन नगर्ने बताए ।
‘बहुमतले पार्टी विभाजन गर्ने होइन । बहुमतले नेतृत्व बदल्ने हो, नेतृत्व बदलियो भने निर्वाचन आयोगमा गएर अद्यावधिक गर्ने हो, पार्टी विभाजन गर्ने होइन,’ उनले कान्तिपुरसँगको कुराकानीमा भने,‘विशेष महाधिवेशनले परिवर्तनको सन्देश दिन्छ । यी सबै कुरा प्रक्रियामा आधारित हुन्छन् । प्रक्रियामा आधारित भएर अघि बढेपछि विभाजित हुने संभावना हुन्न ।’
उनले केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णयले पार्टीको विधान मिच्ने काम गरेको भन्दै त्यसलाई समेत विशेष महाधिवेशनबाट सच्चाइने बताए । ‘केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति विधानले निर्देशित हुने हो, विधानमा प्रस्ट भएको व्यवस्थालाई कार्यसम्पादन समितिले काट्न मिल्दैन, यसअघि केन्द्रीय कार्यसम्पादन समिति बैठकले जति निर्णय गरेका छन्, ती विधानका विरुद्धमा छन्,’ पौडेलले भने ।
केन्द्रीय कार्यसम्पादन समितिको गत शुक्रबार र बुधबारको बैठकले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले बोलाएको विशेष महाधिवेशनको औचित्य समाप्त भएको निर्णय गरेको थियो । कांग्रेसले त्यही निर्णयलाई मातहतका निकायलाई सर्कुलर गरेर विशेष महाधिवेशनमा नआउन प्रतिनिधिहरुलाई उर्दी जारी गरेको छ । विधानले केन्द्रीय कार्यसमिति आफैंले बोलाउने र ४० प्रतिशत हस्ताक्षरबाट विशेष महाधिवेशन बोलाउने दुई अलग–अलग व्यवस्था गरेको छ । पौडेलले भने,‘केन्द्रीय कार्यसमितिले आवश्यक नठानेपछि ५४ प्रतिशत हस्ताक्षले विशेष महाधिवेशन बोलाउन सक्ने अधिकार सम्पूर्ण रुपमा विधिसम्मत र प्रक्रियासम्मत हो । विशेष महाधिवेशनको निवेदन दर्ता भएको तीन महिनाभित्र नियमित महाधिवेशन गरेको भए निस्तेज हुनसक्थ्यो । नगरेपछि विशेष महाधिवेशन टार्न सकिन्थेन । पुस २७ र २८ गते वैधानिक रुपमा विशेष महाधिवेशन हुँदैछ ।’
केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनको मागलाई नजरअन्दाज गर्दा नै आजको परिणाम आएको पौडेलको भनाइ छ । ‘पार्टीका हरेक निकाय र सदस्यहरुले विधान मान्नुपर्छ । विधानको व्यवस्था कार्यन्वयन गर्नुपर्छ । विधानको व्यवस्था कार्यान्वयन गर्दा अवैधानिक भन्न पाइँदैन,’ उनले भने,‘कार्यविधि नहुनुको दोष हस्ताक्षरकर्तालाई लगाइएको छ । त्यो हस्ताक्षरकर्ताको होइन । नबनाउने केन्द्रीय कार्यसमितिको दोष हो । अव विशेष महाधिवेशनले आफ्नो कार्यविधि आफैं बनाएर अघि बढ्छ । दसौं वर्षदेखि केही नपाएर दुःख गरेर बसेका नेता तथा कार्यकर्ताले यो पार्टी विभाजन गर्दैनन् । विभाजनको हौवा फिजाएर प्रतिनिधिहरुलाई रोक्न खोज्नु लोकतान्त्रिक चरित्र हुनै सक्दैन ।’
