राप्रपाका असन्तुष्ट पक्षका नेताहरुले पार्टीको समानुपातिक उम्मेदवारको सूचीमा अवसरवाद र परिवारवाद रहेको भन्दै सच्याउन माग गरेका हुन् ।
What you should know
काठमाडौँ — राप्रपाका असन्तुष्ट पक्षका नेताहरुले पार्टीको समानुपातिक उम्मेदवारको सूचीमा अवसरवाद र परिवारवाद रहेको भन्दै सच्याउन माग गरेका छन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै उनीहरुले समानुपातिक प्रतिनिधित्व व्यवस्था नेपालको संविधानले अल्पसंख्यक, पिछडिएका, उत्पीडित तथा विपन्न वर्ग-समुदायको राजनीतिक सहभागिता सुनिश्चित गर्नका लागि व्यवस्था गरेको प्रणाली भएको बताएका छन् । तर हालै राप्रपाले सार्वजनिक गरेको समानुपातिक उम्मेदवार सूचीले उक्त संवैधानिक मर्म र पार्टीको मूल आदर्शमाथि गम्भीर प्रश्न उठाएको उनीहरुको भनाइ छ ।
उनीहरुले यसले पार्टीमा लामो समयदेखि योगदान दिँदै आएका नेता कार्यकर्ता तथा विपन्न र संघर्षशील महिलामाथि गरिएको गम्भीर अन्याय भएको समेत उल्लेख गरेका छन् । 'यस्तो प्रवृत्तिले पार्टीको नैतिकता, सिद्धान्त र जनविश्वासलाई कमजोर बनाउने कार्य गर्दछ । कुन आधारमा समानुपातिक छनोट भएको हो । र हामी के आधारमा पर्न सकेनौं,' उनीहरुको प्रश्न छ, 'अतः समानुपातिक सूचीमा देखिएको अवसरवादी निर्णय तत्काल सच्याइयोस् । परिवारवादलाई प्रोत्साहन गर्ने सबै निर्णयहरू खारेज गरियोस् । पार्टीमा निरन्तर योगदान दिएका, संघर्षशील, योग्य र वास्तविक अल्पसंख्यक तथा विपन्न वर्गका महिला तथा समुदायलाई न्यायोचित अवसर प्रदान गरियोस् ।'
पार्टीभित्र आन्तरिक लोकतन्त्र, त्याग र योगदानको सम्मान हुने स्पष्ट मापदण्ड लागू गर्नुपर्ने भन्दै उनीहरुले राप्रपा अवसरवाद र परिवारवादबाट मुक्त भई सिद्धान्तनिष्ठ, जनमुखी र भरोसायोग्य राजनीतिक शक्ति बन्नु आजको आवश्यकता रहेको समेत बताएका छन् । 'यस विषयमा अध्यक्षज्यूको गम्भीर ध्यानाकर्षण गराउँदै शीघ्र सुधारात्मक निर्णयको अपेक्षा गर्दछौँ अत: माग सम्बोधन नभएमा अनशन सुरु गर्न बाध्य हुनेछौँ,' उनीहरुले भनेका छन् ।
