राष्ट्रिय सभा उम्मेदवारमा कांग्रेसमा असन्तुष्टि, एमालेमा ओलीका स्वकीय सचिवदेखि घर फर्किएकी झाँक्रीसम्म समेटिइन्
What you should know
काठमाडौँ — कांग्रेसले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापालाई कोशीबाट उम्मेदवार बनाएको छ । नेकपाले उम्मेदवारी नदिएपछि ‘अन्य’ क्लस्टरबाट उनी निर्विरोध निर्वाचित भइसकेका छन् । त्यस्तै मधेश प्रदेश धमेन्द्र पासवान (दलित), दलित अधिकारकर्मी हुन् ।
मधेश प्रदेशबाट उम्मेदवार भएका रन्जित कर्ण (अपाङ्गता/अल्पसंख्यक), नेविसंघका पूर्व अध्यक्ष हुन् । उम्मेदवार वाग्मतीबाट गीता देवकोटा कांग्रेस महासमिति सदस्य हुन् । गण्डकीबाट सिफारिस भएका जगत तिमिल्सिना त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुन् ।
लुम्बिनीबाट बासुदेव जंगली (घिमिरे) (अपांगता/अल्पसंख्यक) चन्द्रबहादुर केसी उम्मेवार भएका छन् । केसी गुल्मीको पुरानो कार्यकर्ता हुन् । उनी पूर्व जिल्ला विकास समिति पनि हुन् । जंगली दाङ कांग्रेसका नेता हुन् ।
कर्णाली प्रदेशबाट उम्मेदवार भएका ललितजंग शाही कांग्रेस प्रदेश सभापति हुन् । सुदूरपश्चिम प्रदेश खम्मबहादुर खाती (अन्य) उम्मेदवार बनाएको छ । उनी कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला महान्याधीवक्ता थिए ।
कांग्रेस संस्थापन पक्षले पासवान, देवकोटा, तिमिल्सिनालाई प्रदेशबाट सिफारिसको सिफारिसबिना उम्मेदवार बनाएको छ । महामन्त्री थापाले राष्ट्रियसभाको उम्मेदवार छनोटको विधि, प्रक्रिया र प्रस्तावित नामहरुप्रति आपत्ति जनाउँदै उनले केन्द्रीय कार्यसमितिको निर्णयमा फरक मतसमेत राखेका छन् ।
राष्ट्रियसभाको उम्मेदवार छनोटका लागि कार्यबाहक सभापति पूर्णबहादुर खड्काले तीन दिनदेखि निरन्तर बैठक राख्दै आएका थिए । तर, ती बैठकमा नामका बारेमा छलफल नै नभएको उनको भनाइ थियो । असन्तुष्टि जनाउँदै महामन्त्री विश्वप्रकाश बैठकमा बहिस्कार गरेका थिए ।
एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि अघि सारेका आठ उम्मेदवार सबै अध्यक्ष केपी शर्मा ओलीले अन्तिम टुंगो लगाएका हुन् । उम्मेदवारमध्ये अध्यक्ष ओलीकी स्वकीय सचिव रोशनी मेचे, माओवादी र नेकपा एकीकृतको एकतामा नगई एमालेमा फर्किएकी रामकुमारी झाँक्री छन् ।
झापा निवास मेचेलाई अल्पसंख्यक समुदायबाट प्रधानमन्त्री भएकै बेला ओलीले स्वकीय सचिव बनाएका थिए । त्यस्तै कात्तिकमा एमालेमा फर्किएकी तत्कालीन नेकपा एकीकृत समाजवादीकी नेतृ झाँक्रीलाई लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा पठाउन लागेका हो । उनले जित्ने निश्चित भएकाले उनी सांसद हुने छन् । त्यस्तै पूर्व माओवादी पृष्ठभूमि भएकी लीला भण्डारीलाई सुदूरपश्चिम प्रदेशबाट उम्मेदवार बनाइएको छ ।
त्यस्तै उम्मेदवार भएकाहरुमा कोशी प्रदेशबाट सोम पोर्तेल छन् । उनी समानुपातिक सूचीमा भए पनि आफूलाई हटाइदिन निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । मधेश प्रदेशबाट रेखा झा छिन् । पूर्व मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा उनी उम्मेदवार भएकी हुन् ।
वाग्मतीबाट किसान महासंघका अध्यक्ष प्रेम दंगाल, गण्डकीबाट गोरखाकी सम्झना देवकोटा उम्मेदवार बनेकी छन् । उनी ०७४ को स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट गोरखा नगरपालिकाबाट उपमेयरमा उम्मेदवारी दिए पनि पराजित भएकी थिइन् ।
०७९ को निर्वाचनमा एमालेले देवकोटालाई मेयरको उम्मेदवार बनायो भने ०८० मा राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनाएको थियो । तीनवटै चुनावमा देवकोटा पराजित बनिन् । कर्णालीबाट मीनासिं रखाल छन् । दैलेखकी रखाल २०७४ मा समानुपातिकतर्फ कर्णाली प्रदेशसभा सदस्य बनेकी थिइन् । रखाल गएको मंसिरमा सम्पन्न एमालेको ११औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।
नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय सभाको रिक्त १८ मध्ये १७ उम्मेदवार उठाएको छ । गण्डकी प्रदेशबाट २ सटि रिक्त भए पनि नेकपाले १ मा मात्र उम्मेदवार उठाएको छ । कांग्रेस–एमालेसँग भागबन्डा गरेर राष्ट्रिय सभामा उम्मेदवारी दिने भने अन्तिम समयमा सिट संख्यामा कुरा नमिल्दा नेकपाले सबै ठाउँमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको थियो ।
नेकपाका उम्मेदवारहरुमा कोशीमा खेमराज सुन्दास, नमिता न्यौपाने, मधेशबाट रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान, सिमकुमारी अग्रवाल, बागमतीबाट प्रेमप्रसाद सापकोटा र सरोज कुमारी झा, गण्डकीबाट कपिल लामा, लुम्बिनीबाट दुर्गा भण्डारी, बृहस्पति अधिकारी र सर्जन विक, कर्णालीबाट बुद्धिप्रसाद शर्मा र अन्जु महतारा, सुदूरपश्चिमबाट टीकाराम जैशी र रोजी बस्नेत सुनार छन् ।
