केही साताअघि मात्र रास्वपा र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबीच सहमति भएको थियो । सो सहमतिअनुसार कुलमान घिसिङलाई उपसभापतिसहित दोस्रो वरीयतामा राख्ने निर्णय भएको थियो ।
काठमाडौँ — रास्वपा सभापति रवि लामिछानेले कुलमान घिसिङसँग भएको सहमतिलाई औपचारिकता दिने तयारी भएको बताएका छन् । बिहीबार चितवन जिल्ला अदालतमा उपस्थित भएर फर्कने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले अब औपचारिकता पूरा गरिने बताएका हुन् ।
'उहाँसँग सरकारमै रहनुभएको समयमा हामीले सहमति गरेका थियौं । अब उहाँले राजीनामा दिएर आउनुभएको छ, त्यसैले सो सहमतिलाई पार्टीले औपचारिकता दिने काम सुरु हुन्छ,' उनले भने ।
केही साताअघि मात्र रास्वपा र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबीच सहमति भएको थियो । सो सहमतिअनुसार कुलमान घिसिङलाई उपसभापतिसहित दोस्रो वरीयतामा राख्ने निर्णय भएको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले बुधबार मात्रै पदबाट राजीनामा दिएका थिए । भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयसमेत सम्हालेका मन्त्री घिसिङले बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पत्र बुझाएका थिए ।
चुनाव गराउने ‘म्यान्डेट’ सहित प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको नागरिक सरकारका मन्त्रीहरू दलीय राजनीतिमा सक्रिय भएपछि जनस्तरबाट पटक–पटक प्रश्न उठेपछि स्वयं प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् बैठकमा नामै तोकेर मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तासँग राजीनामा मागेकी थिइन् ।
