आन्दोलनकारी मनस्थितिका साथ निर्वाचनमा परिचालित हुन एमालेको निर्देशन

प्रत्यक्षमा पार्टी र जनतामा लोकप्रिय उम्मेदवार सिफारिस गर्न निर्देशन

पुस २४, २०८२

कान्तिपुर संवाददाता

UML instructs to mobilize for elections with a protest mindset

What you should know

काठमाडौँ — एमालेले प्रतिनिधिसभा निर्वाचनलाई आन्दोलनका रुपमा लिँदै परिचालन हुन तल्ला कमिटीलाई निर्देशन गरेको छ । 

केन्द्रीय सचिवालयको मंगलबारको बैठकका निर्णयअनुसार प्रत्यक्षतर्फको सम्भावित उम्मेदवारको सिफारिस मापदण्ड र प्रक्रिया तय गरेको छ । जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका सम्भावित उम्मेदवारको नाम सिफारिसका लागि मापदण्ड तोकेर सिफारिस गर्न निर्देशन जारी गरेको छ । 

पार्टी कार्यकर्ता र जनतामा लोकप्रिय, पार्टी नीति र निर्णयका पक्षमा प्रतिबद्ध, प्रतिनिधिसभामा पार्टीका तर्फबाट प्रभावकारी भूमिका खेल्न सक्ने योग्य र सक्षम, निर्वाचन कानुनले अयोग्य भनी किटान गरेको व्यक्ति नरहेको उम्मेदवारको मापदण्ड निर्धारण गरेको छ । 

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाका हकमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले गरेको सिफारिसमा आफ्नो राय जिल्ला र प्रदेश कमिटीले जिल्ला कमिटीबाट प्राप्त सिफारिस २४ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आफ्नो राय पठाउन आन्तरिक पार्टी निर्देशिकामा उल्लेख छ ।

‘प्राप्त सिफारिस तथा रायलाई आधार मान्दै पार्टीको बृहत्तर हित एवम् राष्ट्रिय राजनीतिक परिस्थिति समेतलाई ध्यानमा राखेर पार्टी केन्द्रीय कमिटीले उम्मेदवारका सन्दर्भमा अन्तिम निर्णय गर्ने’ अपानिमा उल्लेख छ । 

संसद् पुनःर्स्थापनाको माग गरिरहेको एमालेले आन्दोलनको मोर्चाका रुपमा निर्वाचनलाई लिन निर्देश गरेको छ । ‘मुलुक निर्वाचनमा होमिएको अवस्थामा सिंगो पार्टीपंक्ति आन्दोलनकारी मनस्थितिका साथ निर्वाचनमा परिचालित हुनु आवश्यक हुन्छ । पार्टीका नेता र कार्यकर्ताले निर्वाचनमा खेलेको भूमिकाको मूल्यांकनका आधारमा अघि बढ्ने नीति अवलम्बन गरिने छ,’ एमालेको निर्देशनमा उल्लेख छ, ‘मनोनयन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन तथा समग्र कार्यविभाजन निर्वाचन सम्पन्न भएपछि गरिने निर्णय भएको छ । निर्वाचन सम्पन्न भएको १ महिनाभित्र सम्बन्धित तहका कमिटीले निर्वाचनको समीक्षा गरी त्यसको प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउनु पर्नेछ ।’

कान्तिपुर

Link copied successfully