आफ्नो भविष्य आफै लेख्नुपर्ने भन्दै उनले यसपटकको निर्वाचनबाट मुख्य दलहरुलाई प्रतिपक्षी पनि नराख्ने चेतावनी दिए ।
चितवन — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीमा प्रवेश गर्नेबित्तिकै आफै उम्मेदवार भन्दै प्रचार नगर्न सचेत गराएका छन् ।
बिहीबार भरतपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै लामिछानेले रास्वपाले अब एकसे एक उम्मेदवार लिएर अघि बढ्नुपर्ने बेला आएको बताए । ‘हामीले अब सबै तहमा ध्यान दिनुपर्नेछ, रास्वपामा जोडिनेबित्तिकै म उम्मेदवार हुँ भन्दै घोषणा गर्दै हिँड्ने काम अब बन्द गर्नुपर्छ, अनुशासित भएर अघि बढ्नुपर्छ,’ सभापति लामिछानेले भने ।
उनले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार उठाउन गल्ती नगरिए एक सिट पनि नहार्ने दाबी गरे । ‘राष्ट्रको आवश्यकताअनुसार हामीले उम्मेदवार छान्न गल्ती गरेनौं भने एक सिट पनि हार्दैनौं तर त्यसका लागि हामी एक कदम पछाडि हट्नुपर्छ,’ उनले भने ।
उनले आफ्नो भविष्य आफै लेख्नुपर्ने भन्दै यसपटक निर्वाचनबाट मुख्य दलहरुलाई प्रतिपक्षी पनि नराख्ने चेतावनी दिए । उनले भने, ‘आफ्नो भविष्य आफै लेख्ने हो, यिनलाई प्रतिपक्षी पनि नराख्ने हो, केका लागि राख्ने ? कलिला बालबालिकाको छाती र टाउकामा ताकीताकी गोली हान्नलाई ?’
सभापति लामिछानेले संसद् ब्युताउँने सपना नदेख्न ठूला दललाई चेतावनी दिए । ‘अन्याय अत्याचारको पराकाष्ठा नाघेर दुई तिहाइको बलमा नेपाली जनतामाथि दमन गर्ने, आफ्ना मान्छे बचाउने, विरोधीलाई फसाउने संसद् ब्युताउँने हो भने खबरदार । संसद आउछ, नयाँ म्यान्डेड लिएर आउँछ ।’
