सामाजिक सञ्जालमार्फत् आफ्ना धारणा सार्वजनिक गर्दै शर्माले विशेष महाधिवेशन पूर्ण रूपमा वैधानिक, बाध्यकारी र समयको माग भएको बताएका छन् ।
What you should know
काठमाडौँ — कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुस २७ र २८ गते काठमाडौंमा आयोजना हुने दोस्रो विशेष महाधिवेशन पार्टी विभाजनका लागि नभई बदलिएको समयअनुसार पार्टीलाई नयाँ ऊर्जा र दिशाबोध दिनका लागि भएको स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालमार्फत् आफ्ना धारणा सार्वजनिक गर्दै शर्माले विशेष महाधिवेशन पूर्ण रूपमा वैधानिक, बाध्यकारी र समयको माग भएको बताएका छन् ।
विशेष महाधिवेशनको आह्वान भइसकेपछि पार्टीभित्र र बाहिर उठिरहेका जिज्ञासालाई सम्बोधन गर्दै शर्माले विशेष महाधिवेशन भए पार्टी फुट्छ कि भन्ने आशंका अस्वीकार गरेका छन् । “विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन,” भन्दै उनले पार्टी विभाजनको अवस्था आए आफू सबैभन्दा पहिला अधिवेशन हलबाट बाहिरिने र पार्टी जोगाउन सबैसँगै उभिने बताएका छन् ।
महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठ्नु अनावश्यक भएको उल्लेख गर्दै शर्माले पार्टी विधानको धारा १७(२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष कारणसहित लिखित माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था रहेको स्मरण गराएका छन् । उनका अनुसार केन्द्रीय समितिले आवश्यक ठानेन भन्दै विशेष महाधिवेशन रोक्न मिल्दैन ।
विशेष महाधिवेशन आवश्यक पर्नुको कारण उल्लेख गर्दै शर्माले अहिलेको नेपाल भदौ २३ अघिको नेपाल नरहेको बताएका छन् । समय, परिस्थिति, चुनौती र जिम्मेवारी बदलिएको अवस्थामा पार्टीले एउटै थलोमा उभिएर नयाँ दृष्टि, योजना र संकल्प लिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । त्यसैले विशेष परिस्थिति, विशेष निर्णय र विशेष महाधिवेशन अपरिहार्य भएको उनले उल्लेख गरेका छन् ।
महाधिवेशन मागका क्रममा हस्ताक्षर नगरेका प्रतिनिधि सहभागी हुन नपाउने भन्ने भ्रम पनि निराधार भएको शर्माको भनाइ छ । विशेष महाधिवेशन हस्ताक्षर गर्नेहरूको मात्रै नभई सबै महाधिवेशन प्रतिनिधिको साझा मञ्च भएको उल्लेख गर्दै उनले पुस २७ गते भृकुटीमण्डपमा हुने उद्घाटन समारोहमा सबै तहका नेता–कार्यकर्तालाई सहभागी हुन आह्वान गरेका छन् ।
विशेष महाधिवेशनले माघ ६ को उम्मेदवारी दर्ता र फागुन २१ को निर्वाचन प्रक्रियालाई असर पार्ने भन्ने आशंकाप्रति पनि शर्माले असहमति जनाएका छन् । मुर्झाएर बसेको कांग्रेसभन्दा जुर्मुराएर मैदानमा उत्रिएको कांग्रेसले राम्रो परिणाम दिने उल्लेख गर्दै उनले विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेर पार्टी एकढिक्का भएर निर्वाचनमा जाने दाबी गरेका छन् ।
बदलिएको समयको जिम्मेवारी बोध गर्दै पार्टीले आफैंलाई रूपान्तरण गर्नुपर्ने भन्दै शर्माले विधानको व्यवस्था कार्यान्वयन गर्नु पार्टी विभाजन होइन, बरु विधानको रक्षा भएको बताएका छन् । उनले असहमति भए पनि नम्रतापूर्वक प्रस्तुत हुन आग्रह गर्दै विचारको प्रस्फुटन शान्त र मधुर हुने स्मरण गराएका छन् । विशेष महाधिवेशन बदलिएको समयको काँग्रेस र बदल्नुपर्ने देशका लागि भएको उनको निष्कर्ष छ ।
