प्रतिनिधिसभा निर्वाचन : काठमाडौंका १० वटै क्षेत्रबाट एमालेका उम्मेदवार सिफारिस

क्षेत्र नं २ र ८ मा एकल नाम सिफारिस भएको छ भने क्षेत्र नं ५ मा ईश्वर पोखरेलसहित ८ जनालाई सिफारिस गरिएको छ ।

पुस २४, २०८२

कान्तिपुर संवाददाता

House of Representatives election: UML candidates recommended from all 10 constituencies in Kathmandu

What you should know

काठमाडौँ — २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेले देशभर उम्मेदवार सिफारिस जारी राखेको छ भने काठमाडौँंका सबै १० वटै निर्वाचन क्षेत्रबाट सिफारिस सकेको छ ।

एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रका लागि आकांक्षी उम्मेदवारको नाम सिफारिस गरिएको हो । निर्वाचन क्षेत्रीय कमिटीबाट आएका नामसहित जिल्ला कमिटीले ती उम्मेदवारका नाममा सुझाव दिँदै राजधानी प्रदेश कमिटीमा सिफारिस गरिएको उनले बताए ।

एमालेले निर्वाचनका लागि पुस २४ (आज)  भित्र प्रदेश कमिटीमा नाम पठाउन जिल्ला कमिटीलाई निर्देशन दिइसकेको छ । एमाले काठमाडौंले क्षेत्र नं २ र ८ बाहेक सबै निर्वाचन क्षेत्रमा एकभन्दा बढी उम्मेदवारको नाम सिफारिस गरेको छ । क्षेत्र नं २ मा मणिराज फुँयाल र क्षेत्र नंं ८ मा राजेश शाक्यको एकल नाम सिफारिस भएको छ । 

निरौलाका अनुसार काठमाडौं-१ मा मोहन रेग्मी, शर्मिला कार्की र सरोज ढकालसहित आठजना, काठमाडौं-३ मा रामेश्वर फुँयाल, कृष्ण राईसहित ६ जना, क्षेत्र नं ४ मा सचिव राजन भट्टराईसहित १३ जनाको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नं ५ मा नेता ईश्वर पोखरेलसहित आठजना, क्षेत्र नं ६ मा केन्द्रीय सदस्य अमनकुमार मास्के, प्रकाश अधिकारीसहित १२ जना, क्षेत्र नं ७ मा केन्द्रीय उपाध्यक्ष रघुजी पन्तसहित ११ जना, क्षेत्र नं ९ मा केन्द्रीय सदस्यद्धय कृष्णगोपाल श्रेष्ठ र डा अजयक्रान्ति शाक्यसहित सात जना र क्षेत्र नं १० मा केन्द्रीय सदस्य विनोद श्रेष्ठसहित सात जनाको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ । 

मंगलबार बसेको एमाले सचिवालय बैठकले निर्वाचनमा होमिने औपचारिक निर्णय गर्दै घोषणापत्र मस्यौदा लेखन र निर्वाचन परिचालन कमिटीसमेत बनाएको छ । सचिवालयले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा उपाध्यक्षहरु रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेताहरु ईश्वर पाखेरल, प्रदीप ज्ञवाली र सदस्यसचिव विष्णु रिमाल रहेको चुनाव घोषणापत्र मस्यौदा समिति बनाएको हो ।

त्यस्तै, निर्वाचनमा परिचालन कमिटीको संयोजकत्वमा उपाध्यक्ष रामबहादुर थापा र सदस्यहरुमा छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल, मीनबहादुर शाही र भीष्म अधिकारी छन् । एमालेले निर्वाचन अभियान सञ्चालनका लागि प्रदेश इन्चार्जसमेत तोकिसकेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully