५८ दलको निर्वाचन चिह्न राखेर मतपत्र तयार हुने
काठमाडौँ — फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबारबाट मतपत्र छाप्ने भएको छ । पहिलो चरणमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छापिने आयोगले जनाएको छ ।
समानुपातिकतर्फ चुनावी प्रतिस्पर्धामा भाग लिने दलको संख्या टुंगिइसकेको छ । ५८ दलले आयोगमा उम्मेदवारको बन्दसूची बुझाएका छन् । तीनै ५८ दलको निर्वाचन चिह्न राखेर मतपत्र तयार हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
यस पटक १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन् । कुल मतदाातको ५ देखि १० प्रतिशत संख्यामा बढाएर मतपत्र छापिनेछ । उच्च सुरक्षा व्यवस्था मिलाएर जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा मतपत्र छपाइको तयारी गरिएको छ । मतपत्र छापिनुपूर्व प्रेसको परीक्षण भइसकेको छ ।
मतदाता शिक्षाका लागि आवश्यक पर्ने नमुना मतपत्रको छपाइ कार्य गरिएको प्रवक्ता भट्टराईले बताए । सेतो कागजमा कालो रंगमा चुनाव चिह्नसहितको मतपत्र हुने आयोगले जनाएको छ । समानुपातिकतर्फको मतपत्र देशैभर एकै आकारका हुनेछन् । माघ ६ मा प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनको कार्य टुंगिएपछि निर्वाचन क्षेत्रअनुसार उम्मेदवार संख्याका आधारमा प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु हुनेछ ।
