चुनावका लागि एमालेले गठन गर्‍यो विमान मस्यौदा र निर्वाचन परिचालन कमिटी

अध्यक्ष ओलीको संयोजकत्वमा विधान मस्यौदा र उपाध्यक्ष थापाको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन

पुस २३, २०८२

कान्तिपुर संवाददाता

UML forms draft manifesto and election mobilization committee for elections

What you should know

काठमाडौँ — प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आएको एमालेले निर्वाचनमा जाने निर्णय गरेको छ । एमालेले अरू दलभन्दा अघि बढेर निर्वाचन घोषणापत्र मस्यौदा र निर्वाचन परिचालन कमिटी पनि बनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको स्थायी कमिटी बैठकले निर्वाचनमा जाने औपचारिक निर्णय गरेको हो । यसअघि प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आए पनि एमालेले निर्वाचनको आन्तरिक तयारी भने गरेको थियो । त्यसअनुसार एमालेले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाइसकेको छ भने देशभरबाट प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गरिरहेको छ ।

अध्यक्ष ओली झापा–५, महासचिव शंकर पोखरेल दाङ–३, उपाध्यक्ष विष्णु पौडेल रुपन्देही–२, गोकर्ण विष्ट गुल्मी–२ बाट एकल सिफारिस भएका छन् । केन्द्रीय कमिटी बैठकले प्रत्यक्ष उम्मेदवारको टुंगो लगाउनेछ । सचिवालयले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेताहरू ईश्वर पोखेरल, प्रदीप ज्ञवाली र सदस्य सचिव विष्णु रिमाल रहेको चुनाव घोषणापत्र मस्यौदा समिति बनाएको छ । २७ पुसमा बस्ने केन्द्रीय कमिटी बैठकमा विधान मस्यौदामा छलफल हुनेछ । 

देशव्यापी निर्वाचन अभियान चलाउन एमालेले उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा निर्वाचन परिचालन कमिटी बनाएको छ । कमिटी सदस्यहरूमा सचिवहरू छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, नेताहरू रमेश बडाल, मीनबहादुर शाही र भीष्म अधिकारी छन् । प्रदेशको समग्र अभियान सञ्चालनका लागि प्रदेश इन्चार्ज तोकिएको छ । कोशी प्रदेशमा सचिव शेरधन राई, मधेशमा नेता लीलानाथ श्रेष्ठ, बागमतीमा सचिव महेश बस्नेत, काठमाडौंमा सचिव राजन भट्टराई, गण्डकीमा सचिव खगराज अधिकारी, लुम्बिनीमा सचिव पद्मा अर्याल, कर्णालीमा सचिव यामलाल कँडेल र सुदूरपश्चिमा नेता गणेश ठगुन्ना संयोजक छन् । 

बैठकले संगठन विभाग इन्चार्जको जिम्मा सचिव भानुभक्त ढकाललाई दिएको छ । त्यस्तै ७७ जिल्लामा भूगोल केन्द्रित रहेर केन्द्रीय सदस्यलाई परिचालन गर्ने निर्णयसमेत बैठकले गरेको छ । ‘बैठकले पदाधिकारी र केन्द्रीय सदस्यलाई निर्वाचनमा केन्द्रित रहन निर्देशन गरेको छ,’ उपमहासचिव लेखराज भट्टले भने, ‘निर्वाचन भूमिकाको आधारमा आगामी जिम्मेवारी तोकिनेछ ।’ 

सचिव राजन भट्टराईले शान्ति सुरक्षा नाजुक रहेको उल्लेख गर्दै सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको आरोप लगाए । तर एमाले निर्वाचन कार्यक्रमअनुसार अघि बढेकाले चुनावको तयारीमा लागेको बताए । ‘हामी चुनावमा जाने नै हो । अब चुनावी तयारीमा जुट्यौं । तर अहिलेको राजनीतिलाई सही ट्र्याकमा ल्याउन संसद् पुनःस्थापना मुद्दा कायम राखेका छौं,’ उनले भने, ‘तर वीरगन्जलगायत क्षेत्रमा सुरक्षा चुनौती देखिएको छ । सरकारले वातावरण बनाउन सकेको छैन । निर्वाचनको वातावरण बनाउनै पर्छ ।’ 

बैठकमा अध्यक्ष ओलीले सरकारले अझै पनि निर्वाचन वातावरण नबनाएको आरोप लगाएका थिए । ‘सरकार र विदेशी शक्तिहरू आफैं निर्वाचन सार्ने र विभिन्न चरणमा गराउने षड्यन्त्र गरिरहेका छन्,’ ओलीले बैठकमा भने । प्रतिनिधिसभा पुनःस्थापनाको माग प्रमुख भए पनि निर्वाचन हुने अवस्थामा निर्वाचनको तयारीमा लाग्न ओलीको निर्देशन थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully