कांग्रेसका पूर्वसहमहामन्त्रीसमेत रहेका थापाले सक्रिय राजनीतिमा फर्किन भन्दै गत मंसिरमा राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका थिए
काठमाडौँ — केही समयअघि मात्र राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका सुनीलबहादुर थापाले कांग्रेसबाट राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दिने भएका छन् । कांग्रेस-एमाले र मधेशी दलबीच भएको चुनावी तालमेलबीच उनले कोशी प्रदेशबाट उम्मेदवारी दिने भएका हुन् ।
त्यसो त राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिने बेलामै उनले आफू सक्रिय राजनीतिमा पुन: फर्किने बताएका थिए । कांग्रेसका पूर्वसहमहामन्त्रीसमेत रहेका थापा २०७९ चैतमा राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा नियुक्त भएका थिए ।
पुर्ख्यौली घर धनकुटाको मुगा भएका थापा २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा एमालेका नेता राजेन्द्रकुमार राईसँग पराजित भएका थिए ।
राप्रपाका संस्थापक नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनील २०७७ साउनमा कांग्रेस प्रवेश गरेका थिए । उनी राप्रपाका ११ केन्द्रीय सदस्यसहित कांग्रेस प्रवेश गरेका थिए । कमल थापा, पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाबीच एकता भएको अवस्थामा सुनील बाहिरिएका थिए ।
