'बालेन्द्र टिम' बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी

काठमाडौंका मेयर बालेन्द्र शाहको टिमको सिफारिसमा रास्वपाको बन्दसूचीमा समेटिएकी ओलीले आफू अहिले नै सक्रिय राजनीतिमा नआउने प्रस्ट पार्दै उम्मेदवारी फिर्ता लिइसकेको जनाएकी छन् ।

पुस २३, २०८२

कान्तिपुर संवाददाता

Srijana, recommended by 'Balendra Team', withdraws her proportional representation candidacy

काठमाडौँ — सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय 'सोलो ट्राभलर' सिर्जना ओलीले रास्वपाको समानुपातिक बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन् ।

 काठमाडौंका मेयर बालेन्द्र शाहको टिमको सिफारिसमा रास्वपाको बन्दसूचीमा समेटिएकी ओलीले आफू अहिले नै सक्रिय राजनीतिमा नआउने प्रस्ट पार्दै उम्मेदवारी फिर्ता लिइसकेको जनाएकी छन् । कान्तिपुरसँग कुरा गर्दै उनले भनिन, 'मैले बालेन्द्र शाहको टिमसँग सल्लाह गरेर नै उम्मेदवारी फिर्ता लिएकी हुँ । आफ्नो क्षेत्रमा नै काम गर्नका लागि राजनीतिमा नआउने निर्णय गरेकी हुँ ।'

लामो समयदेखि देशका विकट क्षेत्रहरूको भ्रमण गरी पर्यटन प्रवर्द्धनमा लागेकी ओलीले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गरेकी हुन् । उनले आफ्नो नाम फिर्ता लिनुको मुख्य कारण पर्यटन क्षेत्रकै काममा केन्द्रित हुनु रहेको बताएकी छन् ।

मध्यपहाडी लोकमार्गको यात्राका क्रममा रहेका बेला आफूलाई बालेन्द्र शाहको टिमबाट समानुपातिक सूचीका लागि प्रस्ताव आएको उनले उल्लेख गरेकी छन् । 'देशका लागि योगदान दिने अवसर ठानेर मैले हतारमा 'नाइँ' भन्न सकिनँ,' उनले लेखेकी छन्, 'तर पछि सोच्दा यो निर्णय अलि हतारमा भएछ भन्ने महसुस भयो ।' 

यात्रामा रहेका कारण र केही प्राविधिक समस्याले गर्दा नाम फिर्ताको जानकारी दिन केही दिन ढिलाइ भएको उनले स्पष्ट पारेकी छन् ।

कान्तिपुर

Link copied successfully