कुलमानले भने- ‘पदमा रहँदा मात्रै होइन, पदबाट बाहिर रहँदा देश र जनताको पक्षमा उभिनु नै कर्तव्य ठानेको छु’
काठमाडौँ — मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले कुर्सीभन्दा माथि आत्मसम्मान हुने बताएका छन् ।
सिंहदरबारमा बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले यही कारण आफूले पदबाट राजीनामा दिएको दाबी गरे । ‘म मान्छु पदभन्दा ठूलो मूल्य हुन्छ, सिद्धान्त,’ घिसिङले भने, ‘कुर्सीभन्दा माथि हुन्छ आत्मसम्मान र सरकारभन्दा ठूलो हुन्छ जनता ।’
उनले राजीनामा दिनुको निर्णय भाग्ने र जिम्मेवारीबाट विमुख हुने नभएको दाबी पनि गरे । ‘मैले दिएको राजीनामाको निर्णय त न भाग्ने निर्णय हो, न त जिम्मेवारीबाट विमुख हुने प्रयास हो । यो मेरो आत्मसम्मान, नैतिकता, सिद्धान्त र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता हो,’ घिसिङले भनेका छन् ।
उनले थप भने, ‘पदमा रहँदा मात्रै होइन, पदबाट बाहिर रहँदा देश र जनताको पक्षमा उभिनु नै कर्तव्य ठानेको छु ।’
