भुपदेव शाहले आगामी प्रतिनिधिसभा निर्वाचनमा बालेन्द्र शाह झापा–५, महोत्तरी वा काठमाडौं–२ मध्ये एक ठाउँबाट उठ्ने गरी तयारी भइरहेको समेत बताए ।
काठमाडौँ — काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहका प्रमुख स्वकीय सचिवसमेत रहेका रास्वपा नेता भुपदेव शाहले बालेन्द्र शाह नेतृत्वको सरकार आएपछि जेन-जीहरुसँग गरेका सहमति कार्यान्वयन हुने दाबी गरेका छन् ।
कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम सरोकारमा कुरा गर्दै शाहले आगामी फागुन २५ गते बालेन्द्र प्रधानमन्त्री समेत हुने दाबी गरेका हुन् ।
यस्तै, उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा बालेन्द्र शाह झापा–५, महोत्तरी वा काठमाडौं–२ मध्ये एक ठाउँबाट उठ्ने गरी तयारी भइरहेको जानकारी दिए । शाहले भने, 'मलाई जानकारी भएको ३ वटा विकल्प भन्छु, पहिलो झापा ५, दोस्रो महोत्तरी र तेस्रो काठमाडौं–२' ।
उनले कार्यक्रममा अबको प्रधानमन्त्री बालेन्द्र शाह नै हुनेसमेत दाबी गरे । केपी ओलीलाई संसद् नै प्रवेश गर्न रोक्नुपर्ने तर्क गर्दै त्यसका लागि पनि बालेन झापा–५ बाट चुनाव लड्न सक्ने उनको भनाइ छ । बालेन्द्र शाह अहिलेसम्म पार्टी कार्यालय नगएको सन्दर्भमा उनी फागुनको पहिलो साता महानगर प्रमुखबाट राजीनामा दिने अनि पार्टी कार्यालय जाने जानकारी दिए ।
अर्को प्रसंगमा उनले वर्तमान सरकार नागरिक सरकार भएका कारण दलमा लागेका मन्त्रीहरूले राजीनामा दिनुपर्ने प्रधानमन्त्री भनाइमा आफू सहमत भएको बताए । तर कुन कुन मन्त्री राजनीतिक दलमा लागेका छन् भन्ने आफूलाई जानकारी नभएको उनको दाबी थियो । कुलमान घिसिङसँगको सहमतिबारे आफू जानकार नभएका कारण उनी राजनीतिमा लागे नलागेको जानकारी नभएको उनको दाबी थियो ।
कार्यक्रम सरोकार कान्तिपुर टेलिभिजनमा आज राति १० बजे र कान्तिपुर टेलिभिजनको युट्युब च्यानलमा राति ९ बजे प्रसारण हुनेछ ।
