दाहाल काठमाडौं फर्किन इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुग्दै गर्दा कांग्रेस नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा त्यहाँ अवतरण गरिसकेकी थिइन्
What you should know
काठमाडौँ — मुलुकभित्र चुनावी माहोल बढेसँगै नेताहरूको दिल्ली दौड तीव्र भएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारतबाट फर्किएलगत्तै नेकपा संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल दुईदिने दिल्ली यात्रा सकेर सोमबार राति फर्किएका छन् ।
दाहाल काठमाडौं फर्किन इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुग्दै गर्दा कांग्रेस नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा त्यहाँ अवतरण गरिसकेकी थिइन् । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गाप्रसाद सुवेदी उपचारका लागि आइतबार साँझ दिल्ली पुगेका छन् । त्यस्तै एक सार्वजनिक कार्यक्रममा भाग लिन रास्वपा उपसभापति स्वर्णिम वाग्ले पनि बिहीबार दिल्ली जाँदै छन् ।
दाहाल पार्टीको प्रवासी संगठनको कार्यक्रममा सहभागी हुन दिल्ली गएको भनिए पनि भारतीय शक्तिकेन्द्रसँग छलफलमा केन्द्रित भएका थिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनी दिल्ली पुग्ने खबर औपचारिक ‘च्यानल’ बाट त्यहाँस्थित नेपाली दूतावासले पनि पाएको थिएन ।
दिल्लीको लाजपतनगरमा सोमबार आयोजना गरिएको ‘एकता सन्देशसभा’ लाई दाहालको औपचारिक कार्यक्रम भनिएको थियो, त्यहाँ भने उनी काठमाडौं फर्किनु केहीबेर अघि मात्र पुगेका थिए, त्यहीँबाट सिधै विमानस्थलतर्फ लागेका थिए । दुईदिने दिल्ली भ्रमणमा खान मार्केटनजिकै रहेको होटल ताजमान सिंहमा बसेका दाहालको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग गरेको भेटवार्तालाई महत्त्वपूर्ण मानिएको छ ।
आइतबार राति दाहाल र डोभालबीच होटलमै वार्ता भएको थियो । भारतीय प्रधानमन्त्रीले नेपाललगायतका वैदेशिक मामिलामा डोभालको सुझावअनुसार आवश्यक निर्णयहरू लिँदै आएका छन् ।
२०७९ को आमनिर्वाचनपूर्व असार अन्तिम साता पूर्वप्रधानमन्त्रीको हैसियतमा दाहालले भारत भ्रमण गरेका थिए । त्यतिबेला पनि उनले सुरक्षा सल्लाहकार डोभालसहित, विदेशमन्त्री एस जयशंकर, तत्कालीन विदेश सचिव विनयमोहन क्वात्रा, भाजपाका तत्कालीन अध्यक्ष जेपी नड्डालगायतसँग वार्ता गरेका थिए ।
दिल्ली उड्नुपूर्व दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए । साढे दुई वर्ष लामो तिक्तता तोडेर उनीहरू छुट्टै छलफलमा बसेका थिए । तत्कालीन प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिएर १७ असार २०८१ मा ओली आफैं कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेपछि यी दुई नेताको सम्बन्ध बिग्रिएको थियो ।
विवादास्पद ठेकेदार शारदाप्रसाद अधिकारीको ललितपुरको मानभवनस्थित घरमा ओली र दाहालबीच वार्ता भएको हो । २ फागुन २०७४ मा पनि दुई नेताबीच यही घरमा भेटवार्ता भएपछि ओली नेतृत्वमा सरकार बनेको थियो ।
पछिल्ला दिनमा कांग्रेस सभापति देउवा र ओलीबीच पनि पटक–पटक वार्ता भइरहेका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस, एमाले र नेकपाबीच चुनावी गठबन्धन गरेर जाने विषयमा शीर्ष तहबीच छलफल सुरु भएको नेताहरूको भनाइ छ ।
रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीको एउटै छातामुनि गोलबद्ध भएपछि कांग्रेस, एमाले र नेकपाले राजनीतिक चुनौती महसुस गरेका छन् । अलग–अलग चुनावमा जाँदा अपेक्षित परिणाम हासिल गर्न नसकिने विश्लेषण गर्दै उनीहरूले गठबन्धन गरेर चुनावमा जान सकिनेबारे छलफल थालेका हुन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाइसकेका छन् । प्रत्यक्षतर्फ ६ माघमा उम्मेदवारी मनोनयन हुने कार्यतालिका छ । यही सेरोफेरोमा नेताहरूको दिल्ली दौडाहा सुरु भएको हो ।
कांग्रेस नेतृ आरजु सोमबार अपराह्न सवा दुई बजे नेपाल एयरलाइन्सको विमानबाट दिल्ली उडेकी हुन् । उनको दिल्ली भ्रमणलाई नियमित स्वास्थ्य उपचार भनिएको छ । तर कांग्रेस सभापति शेरबहादुर देउवाको प्रतिनिधिका रूपमा उनी दिल्ली पुगेको केही नेताहरूको भनाइ छ ।
विगतमा पनि स्वास्थ्य उपचार गराउन जाँदा उनले राजनीतिक भेटघाटलाई नै प्राथमिकता दिँदै आएकी थिइन् । उनका हरेकजसो भारत भ्रमणमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालसँग भेटवार्ता हुने गरेको छ ।
त्यस्तै रास्वपा उपसभापति वाग्ले भारतीय संस्थापन नजिकका दुई ‘थिंक ट्यांक’ विवेकानन्द इन्टरनेसनल फाउन्डेसन र नेटस्ट्र्याट (सेन्टर फर रिसर्च अन स्ट्राटेजिक एन्ड सेक्युरिटी इस्युज) ले संयुक्त रूपमा गर्न लागेको सेमिनारमा सहभागी हुन दिल्ली जान लागेका हुन् ।
‘जेन–जी आन्दोलनपछिको नेपाल–भारत सम्बन्ध’ विषयमा आगामी बिहीबार हुने गोष्ठीमा वाग्लेसँगै कांग्रेस केन्द्रीय सदस्य गोविन्द पोखरेल पनि सहभागी हुँदै छन् । ‘विवेकानन्द इन्टरनेसनल फाउन्डेसनको कार्यक्रम हो, रास्वपा नेता स्वर्णिम वाग्ले र म जाँदै छौं,’ पोखरेलले कान्तिपुरसँग भने ।
भारतका प्रमुख सुरक्षा सल्लाहकार अजित डोभाल विवेकानन्द फाउन्डेसनका संस्थापक निर्देशक हुन् भने पूर्वसहायक प्रमुख सुरक्षा सल्लाहकार पंकज शरण नेटस्ट्र्याटका प्रमुख हुन् ।
उता प्रधानमन्त्री कार्कीका श्रीमान् सुवेदी आकस्मिक रूपमा उपचारका लागि आइतबार साँझ दिल्ली पुगेका छन् । स्वास्थ्यमा समस्या भएपछि उनी काठमाडौंमा उपचार गराउँदै आएका थिए । आइतबार साँझ सुवेदीसँगै प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठ पनि दिल्ली गएका छन् ।
पूर्वप्रधानमन्त्री भट्टराई पनि ७ पुसमा दुईदिने भारत भ्रमणमा गएका थिए । उनले मुम्बईमा आईआईटी बम्बईको ‘टेकफेस्ट’ मा अतिथिका रूपमा प्रवचन दिएका थिए भने दिल्लीमा भारतका पूर्वराजदूतहरूले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी भएका थिए । प्राध्यापक तथा विभिन्न राजनीतिक दलका नेतासमेत सहभागी त्यस कार्यक्रममा उनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा राखेका थिए ।
दिल्लीमा उनले भारतीय उच्च अधिकारीसँग अनौपचारिक कुराकानीसमेत गरेका थिए । भेटवार्तामा भारतीय अधिकारीले नेपालमा तोकिएकै समयमा निर्वाचन होस् भन्ने चाहेको भट्टराईले कान्तिपुरसँग बताएका थिए । ‘भारतीय अधिकारीहरूको नेपालमा चुनाव होस् र हाम्रोतर्फबाट पूरा सहयोग हुन्छ भन्ने धारणा छ,’ उनले भनेका थिए ।
भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्याय नेपाली नेताहरू कुनै न कुनै बहाना खोजेर भारत यात्रामा जाने गरेको बताउँछन् । ‘यो पुरानै चलन हो, नेताहरू आफ्नो राजनीतिक उद्देश्यका लागि भारत दौडिहाल्छन् । तर, के उद्देश्य हो तत्काल खुल्दैन । पछि विकसित घटनाक्रमले मात्र त्यसको अर्थ खुल्छ,’ उनी भन्छन्, ‘यतिबेला पनि देशभित्र विषम परिस्थिति छ । राजनीतिक ध्रुवीकरणहरू भइरहेका छन् । यही सेरोफेरोमा भारतीय पक्षसँग कुराकानी गर्ने उद्देश्यले नेताहरूको भ्रमण भएको हुन सक्छ ।’
