भदौ २४ पछि राज्य, यसका संस्था, राजनीतिक दलको धरातल कमजोर रहेको भन्दै उनले ठोकुवा गरेर अब यसै हुन्छ भन्ने अवस्था नरहेको बताएका छन् ।
What you should know
काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले सक्रिय सत्ताको राजनीति नगर्ने बताएका छन् ।
कान्तिपुर टेलिभिजनको कार्यक्रम 'फायरसाइड'मा बोल्दै भट्टराईले भने, 'अहिले नयाँ पुस्ताका रुपमा जेनजी आएको छ । उनीहरुलाई नै अगाडि सार्नुपर्छ भन्ने मेरो सुविचारित धारणा हो । म अब सक्रिय सत्ताको राजनीति गर्दिनँ । उम्मेदवारीमा त म नउठ्ने नै हो । निर्वाचनमा प्रत्यासी हुन्नँ ।'
उनले नयाँ वैकल्पिक, अग्रगामी, प्रगतिशील र लोकतान्त्रिक धारलाई भने आफ्नो साथ, सहयोग र समर्थन रहने उनले बताए ।
भदौ २४ पछि राज्य, यसका संस्था, राजनीतिक दलको धरातल कमजोर रहेको भन्दै उनले ठोकुवा गरेरै अब यसो हुन्छ भन्ने अवस्था नरहेको पनि बताए । 'निर्वाचन त हुनुपर्छ नत्र यो लोकतन्त्र धरापमा पर्छ,' उनले भने, 'तर अझै पनि ढुक्क भइहाल्ने अवस्था छैन ।'
नेपालमा राजनीतिक अस्थिरता निम्त्याउन पटक-पटक विदेशी शक्तिहरूले खेल्ने गरेको पनि उनले बताएका छन् । निर्वाचित सरकारलाई निर्वाचन गर्नसमेत नदिनका लागि देशभित्र र बाहिरका शक्ति लाग्ने गरेको उल्लेख गर्दै उनले २०६९ मा प्रधानमन्त्रीका रूपमा आफैंले घोषणा गरेको निर्वाचन गर्न नदिन विभिन्न शक्तिको चर्को दबाबमा आफू परेको स्मरण गरे । भट्टराईले तत्कालीन राष्ट्रपतिले प्रधानसेनापतिमार्फत 'कू' गर्ने चेतावनी दिएको समेत खुलासा गरेका छन् ।
२०७३ सालमा वैकल्पिक राजनीतिको नेतृत्व गर्ने भन्दै नयाँ शक्ति नेपाल नामक दलको घोषणा गरेका भट्टराईले तत्कालीन दल र हालको राष्ट्रिय स्वतन्त्र पार्टीबीच तुलना गर्दै वैचारिक रूपमा रास्वपा अझैं बलियो हुनुपर्ने सुझाव दिए । रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङ एक ठाउँमा आउनु सकारात्मक भए पनि तीन पात्रको प्रवृत्ति र विचारमा समानताले यसको भविष्य निर्धारण हुने उनको भनाइ छ ।
