हिजो मास्क लगाएर मञ्चमा उभिए, आज भन्छन् : रास्वपामा गएको छैन

मास्क लगाएर सोमबार रास्वपा सभापति रवि लामिछानेसहितका मुख्य नेताहरूका साथ मञ्चमा पंक्तिबद्ध देखिएका प्रदेश सांसद लक्ष्मणकिशोर चौधरीले मंगलबार भने आफूले रास्वपामा प्रवेश नगरेको दाबी गरेका छन् ।

पुस २२, २०८२

अर्जुन शाह

Yesterday, he stood on stage wearing a mask, today he says: He did not join the Rashtriya Swayamsevak Sangh (RSS).

What you should know

धनगढी — साविक नागरिक नाउपाबाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभाका सांसद लक्ष्मण किशोर चौधरी सोमबार रास्वपाद्वारा आयोजित राजनीतिक समायोजन सभामा सहभागी भए । उद्‍घोषकले रास्वपामा समाजित हुनेको सूचीमा सांसद चौधरीको नाम पनि भने । 

मास्क लगाएर पार्टी सभापति रवि लामिछानेसहितका मुख्य नेताहरूका साथ मञ्चमा पंक्तिबद्ध देखिएका चौधरीले मंगलबार भने आफूले रास्वपामा प्रवेश नगरेको दाबी गरेका छन् ।

‘हाम्रो ढकियाका थुप्रै साथीहरू प्रवेश गर्न लागेकाले म पनि हेर्नका लागि समायोजन सभामा गएकै हुँ, अकस्मात उद्‍घोषकले मेरो नाम पनि वाचन गरेकाले मञ्चमा नेताहरूसँग उभिन पुगेको पनि सत्य हो,’ लक्ष्मणकिशोरले भने ‘म त निर्वाचन क्षेत्रको विकास निर्माणका आयोजनाको कुराकानी गर्न मन्त्री कुलमान घिसिङलाई भेट्न गएको थिएँ । तर सभामा कुलमान रहेनछन् ।’ 

रास्वपामा प्रवेश गरेको प्रचार भएपछि सार्वजनिक रूपमा खण्डन गर्ने तयारीमा रहेको उनले बताए । 

‘प्रदेश सांसदको कार्यकाल अझै दुई वर्ष बाँकी छँदैछ, किन तनाव लिनु,’ कैलाली निर्वाचन क्षेत्र नम्बर १ (२) बाट निर्वाचित उनले भने । चौधरी विगतदेखि विवादमा मुछिँदै आएका सांसद हुन् । यसअघि आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रहेका बेला मुख्यमन्त्री कमलबहादुर शाहको निर्देशनमा उनले राजीनामा दिएका थिए । 

सांसद चौधरी अर्को पार्टीको समायोजन सभामा सहभागी भएर पार्टी छाडेको जानकारी पाएपछि साविकको नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले भने उनलाई कारबाहीको तयारी सुरु गरिसकेकी थिइन् । नाउपा हाल पुष्पकमल दाहाल संयोजक रहेको नेकपामा समाहित भइसकेको छ ।

तर निर्वाचन आयोगमा भने अद्यावधिक भएको छैन । संविधानको धारा १८० (ङ) मा जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो, त्यस्तो दलले संघीय कानुन बमोजिम निजले दल त्याग गरेको सूचित गरेमा त्यस्तो सांसद पदमुक्त हुने भनिएको छ ।  

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully