रास्वपाका नेताहरूले पार्टीले मधेशलाई फरक ढंगले समेट्ने योजना बनाएको र शाहसँगको एकीकरणपछि मधेशमा पार्टीको अवस्थामा उल्लेख्य रूपमा सुधार भएको बताउँदै आएका छन्।
What you should know
काठमाडौँ — काठमाडौंका मेयर बालेन्द्र शाह समूहसँग एकीकरण गरेपछि के रास्वपाले मधेशमा आफ्नो उपस्थिति सबल बनाउला ? यो प्रश्नको उत्तर बुझ्नुअघि मधेश प्रदेशका निर्वाचन क्षेत्रबाट कति सांसद निर्वाचित हुन्छन र रास्वपाको बलियो उपस्थिती कहाँ छ भनेर बुझ्नुपर्छ ।
प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभामा निर्वाचित हुने सदस्य संख्याका हिसाबले मधेश प्रदेश बागमती प्रदेशपछि दोस्रो स्थानमा पर्छ। संसदमा आउने १ सय ६५ प्रतिनिधिमध्ये बागमती प्रदेशबाट ३३ जना निर्वाचित हुन्छन् भने मधेश प्रदेशबाट ३२ जना। बागमती र मधेश नेपालका यस्ता प्रदेश हुन्, जहाँ नेपालको सबैभन्दा ठूलो जनघनत्व छ। अर्थात यी दुई प्रदेशमा मात्रै नेपालको कुल जनसंख्याको करिब २१ प्रतिशत जनसंख्या छ। त्यसैले समानुपातिक प्रणालीबाट पनि यी दुई प्रदेशबाट तुलनात्मक रूपमा बढी सांसद निर्वाचित हुन्छन्।
बागमती र मधेशमा कुन दलको पकड कति बलियो छ भन्ने आँकलनले आसन्न प्रतिनिधिसभा निर्वाचनमा कुन दल बलियो हुन्छ भन्ने सहजै अनुमान गर्न सकिन्छ। २०७९ मा पहिलोपटक संसदीय चुनावमा भाग लिएको रास्वपा पहिलो यात्रामै चौथो ठूलो दलका रूपमा उदाएको थियो। यो निर्वाचनमा रास्वपाले बाग्मती प्रदेशका काठमाडौँ र चितवनजस्ता सहरी निर्वाचन क्षेत्रमा आफ्नो बलियो उपस्थिति देखाएको थियो। तर मधेशमा भने रास्वपाले आफ्नो उपस्थिति देखाउन सकेन। २०८० वैशाखमा भएको उपनिर्वाचनमा भने बहुदलीय गठबन्धनमा रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले रास्वपा उम्मेदवार रमेश खरेलभन्दा २५ हजार बढी मत ल्याएर विजयी भए। खरेल चौथो स्थानमा सीमित भए।
काठमाडौंका मेयर बालेन्द्र शाह समूहसँग एकीकरण गरेपछि के रास्वपाले मधेशमा आफ्नो उपस्थिति सबल बनाउला ? रास्वपाका नेताहरूले पार्टीले मधेशलाई फरक ढंगले समेट्ने योजना बनाएको र शाहसँग एकीकरणपछि मधेशमा पार्टीको अवस्था उल्लेख्य रूपमा सुधार भएको बताउँदै आएका छन्। महोत्तरी घर भएका शाह पार्टीको शीर्ष भूमिकामा भएकाले पार्टीले मधेशमा राम्रो प्रदर्शन गर्न सक्ने उनीहरूको विश्वास छ। पुस १२ मा रास्वपा र मेयर शाहबीच भएको सातबुँदे सहमतिसँगै रास्वपाले शाहलाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ। पार्टी एकीकरण लगत्तै काठमाडौं पोस्टसँगको कुराकानीमा रास्वपा नेता शिशिर खनालले मधेशमा पार्टीका लागि ठूलो चुनावी सम्भावना रहेको बताएका थिए। उनले भनेका थिए, ‘हामी विस्तार हुँदै गएको अर्को क्षेत्र मधेश हो।’
‘हामी विस्तार हुँदै गएको अर्को क्षेत्र मधेश हो- शिशिर खनालनेता खनालले भनेजस्तै रास्वपा मधेशमा बलियो भइसकेको छ कि छैन भनेर अहिल्यै भन्न हतार हुने देखिन्छ। विश्लेषक चन्द्रकिशोरले मधेशी समुदायले नयाँ राजनीतिक शक्तिहरू एकीकृत भएर रास्वपा बनेको प्रक्रियालाई कौतुहल र आश्चर्य दुवै भावले हेरिरहेको बताए। उनले लामो समयदेखि राज्यका संस्थामा वर्चस्व जमाउँदै आएका स्थापित दलहरूका कारण पनि मधेशका नागरिकले यो एकतालाई चासोका साथ हेरिरहेको बताउँदै नयाँ शक्तिको उदयले केही मधेशी दलहरू असहज अवस्थामा पुगेको टिप्पणी पनि गरे। काठमाडौं पोस्टसँगको कुराकानीमा उनले भने, ‘एकीकृत रास्वपाले मधेशका मूल मुद्दाहरूलाई कसरी परिभाषित र प्राथमिकता दिन्छ भन्ने कुराले यसको चुनावी नतिजा निर्धारण गर्नेछ। स्थानीय सरोकारलाई प्रत्यक्ष सम्बोधन गर्ने स्पष्ट र विश्वसनीय एजेन्डाबिना राष्ट्रिय स्तरको गति मधेशमा समर्थनमा बदल्नु चुनौतीपूर्ण हुनेछ।’
काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भएयता शाहले आफूलाई सार्वजनिक रूपमा मधेशी नेताका रूपमा प्रस्तुत नगरेको पृष्ठभूमिमा उनी मधेशका मुद्दामा कति र कसरी संलग्न हुन्छन् भन्ने कुरा अझै हेर्न बाँकी रहेको मधेशका एक पर्यवेक्षकले बताए। चन्द्रकिशोरले हाल रास्वपाको मधेशमा बलियो उपस्थिति नभए पनि राजमार्ग क्षेत्र आसपास केही आधार भने बनाएको बताए। उनले रास्वपाले अन्य दलका प्रभावशाली व्यक्तित्वहरूलाई आकर्षित गर्न नसक्दा संगठनात्मक आधार र राजनीतिक पहुँच विस्तार गर्न कठिनाइ भएको बताए।
मधेशका अर्का राजनीतिक विश्लेषक तुला नारायण शाह चन्द्रकिशोरका केही विश्लेषणसँग सहमत भए पनि रास्वपा र यसको मधेशमा सम्भावनाबारे फरक दृष्टिकोण राख्छन्। उनका अनुसार मेयर शाह र ऊर्जा मन्त्री कुलमान घिसिङ रास्वपामा जोडिनुले मधेशमा पार्टीलाई सकारात्मक प्रभाव पारेको छ। उनले रास्वपाभित्रका केही मधेशी नेताहरू काठमाडौँमा देखिने स्तरको प्रभाव राखे पनि पार्टी समग्र रूपमा मधेशमा अझै जमिन टेक्न नसकेको बताए। उनले यो कमजोरी मधेश र पहाडका फरक राजनीतिक यथार्थका कारण आएको तर्क गरे।
तुला नारायणले मधेशमा मतदाताहरूले कुशासनसँगै दीर्घकालीन विभेदको सामना गरिरहेको पृष्ठभूमि उल्लेख गर्दै यो विषयमा रास्वपाले सशक्त र विश्वसनीय धारणा प्रस्तुत गर्न नसकेको बताए। उनले यसको विपरीत, सीके राउत नेतृत्वको जनमत पार्टीले कुशासन र विभेद दुवै मुद्दामा स्पष्ट र कडा आवाज उठाएकै कारण स्थापित मधेशी दलहरूलाई चुनौती दिन सकेको बताए।
शाहले भदौमा भएको जेन–जी विद्रोहपछि राजनीतिक परिदृश्य बदलिएको र मेयर शाहको मधेशमा लोकप्रियता बढेको बताउँदै यस्तो लोकप्रियता केवल शाह मधेशी भएकै कारणले बढेको भने होइन भन्नेमा जोड दिए।
त्यसो भए मधेशमा मेयर शाहको आकर्षण किन बढ्यो ?
शाहले दुई मुख्य कारण औंल्याए। पहिलो, उनी व्यक्तिगत रूपमा भ्रष्टाचारबाट टाढा छन् भन्ने आमधारणा। दोस्रो, काठमाडौँ महानगरपालिकाले सुरु गरेको छात्रवृत्ति कार्यक्रम, जसबाट विभिन्न समुदायका विद्यार्थी लाभान्वित भएका छन् र लगभग हरेक समूहका केही विद्यार्थीले सहयोग पाएका छन्।
स्थानीय, प्रदेश र संघीय तहका धेरै प्रतिनिधि आफ्ना र नजिकका समूहका लागि मात्र बजेट सुरक्षित गर्ने गरेको देखिँदा मेयर शाहको कार्यशैलीले आम नागरिकमा विश्वास र सद्भाव पैदा गरेको विश्लेषक शाहले बताए।
त्यसैबीच संघीयतासहितका मूल मधेशी सरोकारमा मेयर शाह र रास्वपाको धारणा के हो भन्नेबारे मधेशी मतदातामा कौतुहल देखिएको छ। ती विषयमा स्पष्ट धारणा सार्वजनिक भएपछि मात्र मधेशमा उनीहरूको चुनावी राजनीति कस्तो बन्ला भन्ने आँकलन गर्न सकिने शाहको भनाइ छ।
रास्वपा नेताहरू हालको तीन तहको संघीय संरचनामा केही आमूल परिवर्तन गर्न चाहेको बताउँछन्। विशेष गरी अहिलेको प्रदेश संरचनाप्रति उनीहरू आलोचनात्मक छन्। यसअघि प्रदेशसभा निर्वाचनमा मतदान नगर्ने मेयर शाहको निर्णयलाई पनि प्रदेशविरोधी धारणा मानिएको छ। तर पछिल्लो समय मेयर शाहले आफू संविधान र त्यसका व्यवस्थाप्रति प्रतिबद्ध रहेको बताएका छन्।
विश्लेषक शाहले भने, ‘यदि यस निर्वाचनमा मधेशले रास्वपालाई समर्थन गर्यो भने त्यो मेयर शाह मधेशी भएकै कारणले मात्र होइन; उनले काम गरेर देखाउने व्यक्तिका रूपमा बनाएको छविका कारण हुनेछ।’
