आन्तरिक छलफल र केन्द्रीय समितिमा कति जना समेटिने भन्ने यकिन नभएकाले आइतबार कुलमान पक्ष रास्वपामा समाहित हुन सकेन ।
What you should know
काठमाडौँ — रास्वपाले बालेन्द्र शाहसहित उनको टिमका २६ र विवेकशील साझाका ७ जनालाई केन्द्रीय समिति सदस्यमा चयन गरेको छ ।
जिम्मेवारी तोक्ने क्रममा बालेन्द्र शाहलाई केन्द्रीय सदस्य मनोनीत गर्दै ‘वरिष्ठ नेता’ बनाइएको हो । त्यस्तै उनको टिमबाट बालेन्द्र शाहसहित सुनील लम्साल, भूपदेव शाह, सस्मित पोखरेल, सागर ढकाल, लक्ष्मण थारू, रमेश पौडेल र खगेन्द्र सुनार छन् । सुनार हाम्रो पार्टी नेपालका अध्यक्ष थिए तर रास्वपामा उनी बालेन्द्रको पक्षबाट समाहित भएका हुन् । त्यस्तै, बालेन्द्रकै तर्फबाट गणेश पौडेल, सन्तोष गिरी, नमिता यादव, सरिता ज्ञवाली, जेम्स कार्की, सुशान्त वैदिक, लक्ष्मी बर्देवा, शिव यादव, रोहन कार्की, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, मधुसुधन ढकाल, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउद केन्द्रीय सदस्य चयन भएका छन् ।
रास्वपाका सभापति रवि लामिछाने र बालेन्द्र शाहबीच १३ पुसमा एकता सहमति भएको थियो । सहमतिअनुसार बालेन्द्रलाई आगामी चुनावपछि बहुमत आएको अवस्थामा प्रधानमन्त्री बनाउने र रास्वपामा नेताहरूको समायोजन गर्ने सहमति गरिएको थियो । त्यस्तै, रास्वपा र कुलमान घिसिङको उज्यालो नेपाल पार्टी (उनेपा) बीच १४ पुसमा सातबुँदे सहमतिसहित एकता भएको थियो । त्यसअघि विवेकशील साझा पार्टी मंसिर १४ मा रास्वपामा समाहित भएको थियो ।
विवेकशील साझाका सदस्य र सल्लाहकारहरूलाई केन्द्रीय, प्रादेशिक र स्थानीय तहगत संरचनामा समुचित समायोजन गरी जिम्मेवारी तोक्ने सहमति भएको थियो । उक्त सहमतिअनुसार आइतबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले विवेकशील साझाबाट आएका ७ नेतालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको हो । केन्द्रीय सदस्यमा मनोनीत भएका नेताहरूमा समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना छन् ।
रास्वपाको केन्द्रीय समिति बैठकले पदाधिकारी संख्या बढाउने निर्णयसमेत गरेको छ । बैठकले उपसभापतिसहित ५ पदाधिकारी थप गर्ने निर्णय गरेको हो । पार्टी एकीकरण र विस्तारका लागि पदाधिकारी संख्या थप गर्ने निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिए । बैठकले एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री र एक सहप्रवक्ता पद थपेको छ । ‘पार्टी एकीकरण एवं विस्तारका क्रममा पार्टीले यसअघि गरेको सम्झौता कार्यान्वयनका लागि पार्टी विधान संशोधनमा समावेश हुने गरी पदाधिकारीको संख्या थप गर्ने’ निर्णय भएको प्रवक्ता झाले जानकारी दिए ।
हाल रास्वपामा दुई उपसभापति छन् । घिसिङसँगको सहमति कार्यान्वयन गर्नका लागि उपसभापति पद थप गरिएको हो । त्यस्तै, हाल रास्वपामा एक महामन्त्री छन् । कविन्द्र बुर्लाकोटी महामन्त्री पदमा रहेको अवस्थामा एक महामन्त्री पद थपेर दुई बनाइएको छ । रास्वपामा हाल विपिन आचार्य सहमहामन्त्री छन् । सुमना श्रेष्ठले पार्टी छाडेपछि एउटा सहमहामन्त्री पद रिक्त छ । थप एक सहमहामन्त्री थप गरेसँगै रास्वपामा तीन सहमहामन्त्री हुनेछन् । रास्वपामा प्रतिभा रावल र रमेश प्रसाईं सहप्रवक्ता छन् । यी दुईमध्ये एउटालाई फिर्ता गरेर सहप्रवक्ता दुई जना मात्र राख्ने रास्वपाले जानकारी दिएको छ ।
बालेन्द्रको पक्षबाट रास्वपाको महामन्त्रीमा सुनील लम्साल, सहमहामन्त्रीमा भूपदेव शाह र सहप्रवक्तामा सस्मित पोखरेललाई पठाउने तयारी रहेको नेताहरूले बताएका छन् । बाँकी नेताहरूको जिम्मेवारी तोक्नेबारे भने अझै समझदारी भइसकेको छैन । भूपदेव शाहले भने, ‘नेताहरूलाई जिम्मेवारी दिनेबारे छलफलको चरणमा छौं । तीन जनालाई पदाधिकारीको जिम्मेवारी दिने भनिएको छ । अरू राम्रा मान्छेहरूलाई पनि पार्टी पदाधिकारीदेखि अन्य जिम्मेवारीमा राख्ने बाटो खुला छ ।’
रास्वपामा समाहित भएका कुलमान घिसिङका पक्षका नेताहरूलाई भने जिम्मेवारी तोकिएको छैन । आन्तरिक छलफल र केन्द्रीय समितिमा कति जना समेटिने भन्ने यकिन नभएकाले आइतबार रास्वपामा समाहित हुन नसकेको कुलमान पक्षका नेता राजु थापाले जानकारी दिए । ‘समायोजनको कुरा छलफलमा नै छ । केन्द्रीय समितिमा यति नै संख्या भन्ने टुंगो लागेको छैन । चाँडै टुंगो लगाउने गरी कुरा भइरहेको छ,’ उनले भने ।
प्रवक्ता झाले कुलमान पक्षलाई केन्द्रीय समितिमा ल्याउनेबारे छलफल अन्तिम चरणमा पुगेको बताए । ‘उहाँहरूलाई केन्द्रीय समितिमा ल्याउनेबारे सैद्धान्तिक सहमति भइसकेको छ । कति जना भन्ने संख्या टुंगो लाग्न बाँकी छ । छिट्टै यो टुंगो लाग्छ । त्यसपछि पदाधिकारीको जिम्मेवारी पनि टुंगो लाग्छ,’ झाले भने ।
