सुरेन्द्र बजगाईं महानगरको सहरी योजना आयोगमा शिक्षा, स्वास्थ्य, सामाजिक, वातावरण तथा विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत छन् ।
काठमाडौँ — फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावका लागि ललितपुर क्षेत्र नं. १ मा रास्वपाले सुरेन्द्र बजगाईंको नाम अगाडि सार्ने भएको छ। महांकाल गाउँपालिका–४, कालेश्वरका स्थायी बासिन्दा बजगाईं हाल काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह सल्लाहकार हुन् ।
उनी महानगरको सहरी योजना आयोगमा शिक्षा, स्वास्थ्य, सामाजिक, वातावरण तथा विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत छन् ।
सुरुमा बजगाईंको नाम पार्टीको समानुपातिक बन्दसूचीमा समेत प्रस्ताव गरिए पनि उनले प्रत्यक्षतर्फ उम्मेदवार हुने चाहना देखाएपछि काटिएको थियो । बालेन्द्र सचिवालय र जेन-जी समूहबाट उनको नाम समानुपातिकमा अगाडि सारिएको थियो ।
ललितपुर-१ मा प्रत्यक्ष उम्मेदवारको खोजी हुँदा बालेन्द्रनिकट सुरेन्द्र नै उपयुक्त व्यक्ति रहेको ठहरपछि उनको नाम समानुपातिक सूचीबाट फिर्ता गरिएको बालेन निकट रास्वपाका एक नेताले बताए ।
ललितपुर क्षेत्र नम्बर १ मा २०४८ सालदेखि नै निर्वाचन क्षेत्रभन्दा बाहिरका उम्मेदवारहरूको वर्चस्व रहँदै आएको छ। केशरबहादुर विष्ट, वर्षमान पुन, उदय शमशेर राणा, नवराज सिलवाललगायतले यो क्षेत्रमा जित्दै आएका थिए । २०७९ को चुनावमा यो क्षेत्रमा कांग्रेसका उदय शमशेर राणा विजयी भएका थिए ।
राजनीतिक दलको शक्ति, केन्द्रको पहुँच र राष्ट्रिय स्तरको पहिचानका कारण उनीहरू विजयी भए पनि स्थानीय मुद्दा र आवश्यकता भने प्राथमिकतामा पर्न नसकेकाले आफ्नो उम्मेदवारी भएको बजगाईंले बताए ।
