विकसित राजनीतिक घटनाक्रमबारे कतिपय भारतीय मित्रहरुसँग मेरो समीक्षा भएको छ : दाहाल

नेकपाको प्रवास संगठन ‘नेपाली समाज भारत’ को कार्यक्रममा आइतबार दिल्ली गएका उनले भारतीय अधिकारीसँग देश–विदेशमा विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा भएको बताए ।

पुस २१, २०८२

कान्तिपुर संवाददाता

I have reviewed the evolving political developments with some Indian friends: Dahal

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले भारतीय अधिकारीसँग भेटवार्ता भएको बताएका छन् ।

नेकपाको प्रवास संगठन ‘नेपाली समाज भारत’ को कार्यक्रममा आइतबार दिल्ली गएका उनले भारतीय अधिकारीसँग नेपालका साथै अन्य देशमा विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा भएको बताए । 

‘अहिले देश–विदेशमा विकसित राजनीतिक घटनाक्रम अनि मैले पछिल्लो पटक प्रधानमन्त्रीको हैसियतले नेपाल–भारत सम्बन्धमा गरेका कतिपय महत्त्वपूर्ण निर्णयहरुको अनौपचारिक ढंगले भारतीय मित्रहरुसँग समीक्षा गर्ने विकसित घटनाक्रमबारे पनि सल्लाह सुझावहरु संकलन गर्ने उद्देश्य पनि थियो,’ उनले नेपाली समाजको कार्यक्रममा दिल्लीमा सोमबार अपराह्न भने, ‘केही विकसित राजनीतिक घटनाक्रम अनौपचारिक ढंगले कतिपय भारतीय मित्रहरुसँग मेरो समीक्षा भएको छ । हिजोदेखि आजसम्म भने अहिले यो महत्त्वपूर्ण कार्यक्रममा तपाईंहरुसँग सहभागी भएर केही कुरा राख्दै गर्दा कार्यक्रमले पूर्णता पाएको मैले महसुस गरेको छु । मैले यति भनेपछि तपाईंहरुले पक्कै बुझ्नुभयो भन्ने मलाई लाग्छ ।’

उनले सोमबार दिल्लीको ताजमान सिंह होटलमा भारतीय सुरक्षा सल्लाहकार अजित डोभल र अन्य सरकारी अधिकारीसँग भेटवार्ता गरेका थिए । उनको यो उच्चस्तरीय गोप्य भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

कान्तिपुर

Link copied successfully