चितवनमा चुनावी चर्चा : रेनुदेखि रविसम्म 

२०७९ को निर्वाचनमा दुई क्षेत्रमा रास्वपा विजयी हुँदा एक क्षेत्र चितवन–३ मा राप्रपाले जितेको थियो ।

पुस २१, २०८२

रमेशकुमार पौडेल

Election talk in Chitwan: From Renu to Ravi

What you should know

चितवन — प्रतिनिधिसभा सदस्य पदका लागि यसअघि भएको निर्वाचनमा चितवनका तीन निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा विजयी भएको रास्वपाले उम्मेदवार सिफारिस गर्न बाँकी नै छ । कांग्रेस, एमाले, नेकपा र राप्रपाले आकांक्षीहरूको नाम सिफारिस गरिसकेका छन् ।

२०७९ को निर्वाचनमा दुई क्षेत्रमा रास्वपा विजयी हुँदा एक क्षेत्र चितवन–३ मा राप्रपाले जितेको थियो ।

एमालेले चितवन–१ मा मात्रै सम्भावित उम्मेदवारहरूको नामावली जिल्लामा सिफारिस गरेको छ । क्षेत्र नम्बर २ र ३ को बैठक मंगलबार बसेर उम्मेदवारहरूको नाम सिफारिस गर्ने एमालेको तयारी छ । एमालेले चितवन–१ बाट ६ जनाको नाम सिफारिस गर्दा सो क्षेत्रमा २०७० सालदेखि लगातार तीनवटा निर्वाचनमा उम्मेदवार भएका र २०७९ बाहेक अरू दुई निर्वाचनमा विजयी भएका पार्टीका केन्द्रीय नेता सुरेन्द्र पाण्डेको नाम समावेश छैन। यो कुराले पनि चितवन–१ अहिले चर्चामा छ ।

एमालेको केन्द्रीय उपाध्यक्ष भइसकेका पाण्डे यो पटक महाधिवेशनमा महासचिवका उम्मेदवार थिए। पार्टी अध्यक्ष केपी शर्मा ओली इतरको प्यानलबाट उम्मेदवार रहेर पराजित भएका पाण्डेको नाम आफ्नै निर्वाचन क्षेत्रको उम्मेदवारको रूपमा पनि अटाएन। २०७९ सालको निर्वाचनमा उम्मेदवार रहँदा भरतपुरमा आयोजित एमालेको चुनावी प्रचारसभामा बोल्दा नै पार्टी अध्यक्ष केपी शर्मा ओलीले पाण्डेले पहिला बाटो बिराएको र पछि सही ठाउँमा उभिएको भनेर कटाक्षसमेत गरेका थिए।

२०७९ सालको निर्वाचनमा चितवन क्षेत्र नम्बर १ मा एमालेबाट उठेका पूर्व अर्थमन्त्री तथा सोही क्षेत्रबाट दुई पटक निर्वाचित पाण्डे र राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएरकांग्रेसबाट उठेका विश्वनाथ पौडेलको चर्चा राम्रै थियो। तर फराकिलो मतान्तरले रास्वपाका हरि ढकालले चुनाव जितेका थिए। ढकाल ३४ हजार २१८ मत प्राप्त गरेर विजयी हुँदा दोस्रो भएका पाण्डेले २६ हजार ६३४ मत ल्याए। कांग्रेसका पौडेलको २५ हजार २२ मत आयो।

संविधान सभा सदस्यका लागि दोस्रो पटक २०७० सालमा भएको निर्वाचन र २०७४ सालमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि एमालेका पाण्डे नै यो क्षेत्रमा विजयी भएका थिए। पहिलो संविधान सभा सदस्य निर्वाचनमा पनि यो क्षेत्रमा एमाले नै विजयी भएको थियो। अहिले एमालेले यो क्षेत्रमा पार्टीका जिल्ला अध्यक्ष कमल पाठकसहित ६ जनाको नाम सिफारिस गरेको छ। रास्वपाबाट ढकालसहित अन्य पनि चर्चामा छन्। तर पार्टीले कुनै नाम सिफारिस गरेको छैन।

‘क्षेत्र नम्बर १ र ३ मा अन्य साथीहरूले पनि चाहना जाहेर गर्नुभएको छ। अहिले ती नाम सिधै केन्द्रमा जाने भएका कारणले हामीलाई जानकारी हुँदैन। उम्मेदवार छनोटका लागि प्राइमरी इलेक्सन हुँदा नाम सार्वजनिक हुन्छ,’ रास्वपा जिल्ला सभापति कृष्णप्रसाद भुषालले भने। 

क्षेत्र नम्बर २ मा भने पार्टी सभापति रवि लामिछाने नै उठ्ने भुषालले बताए। लामिछाने २०७९ र त्यसपछि भएको उपनिर्वाचनमा पनि प्रतिस्पर्धी उम्मेदवारसँग निकै फराकिलो मतान्तरले विजयी भएका थिए।

२०७९ मंसिरको निर्वाचनमा लामिछानेले ४९ हजार ३ सय मत ल्याएर विजयी हुँदा दोस्रो स्थानमा रहेका कांग्रेसका उमेश श्रेष्ठको १४ हजार ९ सय ८८ र तेस्रो स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेलको १४ हजार ६५२ मत आएको थियो। निर्वाचित भएपछि गृहमन्त्री भएका लामिछानेको नागरिकता विवादमा अदालतले चितवन–२ मा उम्मेदवारी खारेज गरेपछि उपचुनाव भएको थियो। २०८० वैशाखको उपचुनावमा पनि उम्मेदवार भएर लामिछाने पहिलाको भन्दा धेरै मत ५४ हजार १ सय ७६ ल्याएर विजयी भए।

उपचुनावमा चितवन–२ मा कांग्रेस–एमाले दुवैको पहिलाको भन्दा पनि कम मत आएको थियो। कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय १४ मत ल्याउँदा एमालेका रामप्रसाद न्यौपानेको १० हजार ९ सय ३६ मत आएको थियो। २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन–३ मा कांग्रेस र एमालेका उम्मेदवार थिएनन्। उक्त चुनावमा कांग्रेसले तत्कालीन माओवादीका उम्मेदवार डा. भोजराज अधिकारीलाई र एमालेले स्वतन्त्र उठेका कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालालाई समर्थन गरेको थियो।

निर्वाचनमा राप्रपाका विक्रम पाण्डे ३५ हजार ६० मत ल्याएर विजयी भए। दोस्रो भएका माओवादीका डा. अधिकारीको २५ हजार ८२४ मत थियो। एमालेले समर्थन गरेको दिनेश कोइरालाले १२ हजार २७५ मत ल्याएर चौथो हुँदा तेस्रो भएकी रास्वपाकी जिता बरालको १४ हजार ८४३ मत आएको थियो। यो क्षेत्रमा राप्रपाले फेरि पाण्डेकै नाम एकल सिफारिस गरेको छ। ‘चितवन–१ मा बलराम खनाल र ३ मा विक्रम पाण्डेको नाम सिफारिस भएको छ,’ राप्रपा जिल्ला उपाध्यक्ष जिवलाल पुरीले भने।

राप्रपाले चितवन–२ मा पुरीसहित रिना गुरुङ र जगदीश्वर अधिकारीको नाम सिफारिस गरेको छ। चितवन–३ मा नेकपाले भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाललाई एकल सिफारिस गरेको छ। तत्कालीन माओवादीबाट उम्मेदवार भई भरतपुर महानगरपालिकामा दुई पटक मेयर निर्वाचित भएकी दाहाल प्रतिनिधिसभा सदस्य बन्ने पहिलो प्रयासमा छिन्। चितवन–३ मा भरतपुर महानगरपालिकाको सदरमुकाम भरतपुरदेखि पश्चिमको क्षेत्र र माडी नगरपालिका समेटिएको छ ।

दाहाल दुवै पटक नेपाली कांग्रेसको समर्थनमा महानगरपालिकामा मेयर भएकी हुन्। चितवन–३ बाट २०७४ मा रेनुका पिता पुष्पकमल दाहाल एमालेको समर्थनमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। २०७९ को निर्वाचनमा पनि पुष्पकमल दाहाल सोही क्षेत्रबाट उठ्ने चर्चा थियो। तर अन्तिम समयमा उनी गोरखा गएका थिए। यो पटक भरतपुरमा मेयर भएर गरेको आठ वर्षको कामको आधारमा रेनु दाहाल प्रतिनिधि सभा सदस्य निर्वाचनमा उठ्ने निधोमा पुगेकी हुन्।

चितवन–३ मा दाहालको एकल सिफारिस भएको, चितवन–२ मा द्रोणबाबु सिवाकोटी, प्रताप गुरुङ र शिव भट्टराई तथा चितवन–१ मा वाग्मती प्रदेश सभा सदस्य कृष्ण खनाल, राप्ती नगरपालिकाका मेयर समशेर लामा लगायत १३ जनाको नाम सिफारिस भएको नेकपाका नेता रामचन्द्र अधिकारीले बताए।

चितवन–३ मा रास्वपाबाट सोबिता गौतमको नाम पनि चर्चामा छ । रास्वपा चितवन सभापति कृष्णप्रसाद भुषालले चितवन–३ मा रास्वपाबाट सोबितासहित अन्य नाम पनि चर्चामा रहेको बताए ।

कांग्रेसले चितवन–१ मा ११ जना, चितवन–२ मा पार्टीका जिल्ला सभापति राजेश्वर खनालसहित १० जना र चितवन–३ मा २०७९ सालमा स्वतन्त्र उठेर एमालेले समर्थन गरे पनि पराजित भएका कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालासहित १३ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ।

कांग्रेसले मंसिर २५ मा केन्द्रमा सिफारिस पठाएको हो । रास्वपाले पुस अन्तिममा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवार हुनेहरूको नाम टुंग्याउने रास्वपा जिल्ला सभापति कृष्णप्रसाद भुषालले बताए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully