रुपन्देही-३ बाट वासुदेव घिमिरेसहित १० जनाको प्रस्ताव
What you should know
बुटवल — प्रतिनिधिसभा उम्मेदवारका लागि एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही-२ बाट एकल सिफारिस भएका छन् । रुपन्देही-५ बाट खिमलाल भट्टराईको नाम पनि एकल सिफारिस भएको छ ।
एमाले रुपन्देही-२ का क्षेत्रीय सहसंयोजक राजेन्द्र ढकालले आइतबार सम्पन्न क्षेत्रीय कमिटीको बैठकले पार्टी उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलको नाम एकल रुपमा सिफारिस भएको बताए । पौडेल यो क्षेत्रबाट २०५६ सालदेखि निरन्तर उम्मेदवार रहेका छन् भने २०६४ देखि निरन्तर जित्दै आएका छन् ।
पटक-पटक मन्त्री, अर्थमन्त्री तथा उपप्रधानमन्त्री भइसकेकाले यो क्षेत्रको विकासका लागि एकल उमेजवारको रूपमा पठाउने बैठकमा सहभागी सबैको चाहना भएपछि सर्वसम्मत निर्णय भएको उनले बताए । क्षेत्र नं. ५ बाट एकल सिफारिस भएका भट्टराई २०७९ को प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर सिफारिस भएका थिए ।
तर, उनीभन्दा पहिले नै वासुदेव घिमिरेको नाम सिफारिस भएर निर्वाचन कार्यालयमा उमेदवारी दर्ता भएपछि भट्टराई उमेदवार हुनबाटै वञ्चित भएका थिए । आइतबार भएको क्षेत्रीय बैठकबाट रुपन्देही-५ का लागि भट्टराईको नाम एकल सिफारिस भएको एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मीनप्रसाद पौडेलले बताए ।
त्यस्तै रुपन्देही-३ वासुदेव घिमिरेसहित १० जनाको नाम प्रस्ताव गरिएको छ । २०७९ को चुनावमा घिमिरे रुपन्देही-५ बाट निर्वाचित भएका थिए । उनले केही दिनअघि सामाजिक सञ्जालबाट एमाले छाडेको घोषण गरेपछि एमाले पंक्ति तरंगित बनेको थियो । पछि निकटस्थहरूको जोडबलमा एमालेमै फर्किएका थिए । एमालेमै रोक्नका लागि उपाध्यक्ष विष्णु पौडेलले पहल गरेका थिए ।
घिमिरे रुपन्देहीको ३ मा पर्ने तिलोत्तमा नगरपालिकामा मेयरसमेत बनेका थिए । २०७९ को चुनावमा तुलनात्मक रूपमा एमालेको कमजोर क्षेत्र मानिएको ५ मा गएर कांग्रेसका भरतकुमार शाहलाई ९ हजार ७ सय २ मतान्तरले हराएका थिए । अहिले जारी उम्मेदवार छनोट बैठकमा घिमिरे भने सहभागी छैनन् । बैठकमा सहभागी एमाले जिल्ला सदस्य उमा अधिकारीका अनुसार आकांक्षीहरूले भन्दा अरुले फ्लोरमा सम्भावितको नाम प्रस्तावित गरेका छन् ।
घिमिरेसहित सिद्धार्थनगरका पूर्वमेयर हरि अधिकारी, अखिल नेपाल महिला संघ प्रदेश अध्यक्ष पम्पावती खनाल, एमालेका पुराना नेता राजेन्द्र पन्थी जिल्ला उपाध्यक्ष हितराज पन्थीसहित १० जनाको नाम प्रस्तावित भएको उनले बताइन् ।
