रास्वपाले दुई उपसभापति पद थप्यो

यो निर्णयसँगै रास्वपामा उपसभापति संख्या ४ हुनेछ ।

पुस २०, २०८२

कान्तिपुर संवाददाता

RSP adds two vice-presidential posts

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले दुई उपसभापति पद थपेको छ । रास्वपा प्रवक्ता मनिष झाले दुई उपसभापति पद थप गर्ने निर्णय केन्द्रीय समितिबाट भएको जानकारी दिए । 

रास्वपामा एकता भएका राजनीतिक दल र समूहलाई समायोजन गर्नका लागि दुई उपसभापतिसँगै अन्य पदाधिकारीको पद संख्या थप गर्ने निर्णय लिइएको झाले जानकारी दिए । 

यसअघि झाले एक उपसभापति पद थप गरिएको जानकारी दिएका थिए । केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्दा भने झाले दुई उपसभापति पद थप गरिएको बताए । 

त्यस्तै, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्तामा एक-एक पद थप गरिएको पनि झाले जानकारी दिए ।

यो निर्णयसँगै रास्वपामा उपसभापति संख्या ४ हुनेछ । रास्वपाको उपसभापतिमा हाल डीपी अर्याल र स्वर्णिम वाग्ले छन् । कुलमान घिसिङलाई उपसभापति बनाउने सहमति यसअघि नै उज्यालो नेपाल पार्टीसँग एकताको क्रममा भइसकेको छ । महामन्त्री २ र सहमहामन्त्री ३ हुनेछन् । सहप्रवक्ता पनि ३ हुनेछन् । 

कान्तिपुर संवाददाता

Link copied successfully