नेकपामा धमाधम उम्मेदवार सिफारिस, सुरक्षित क्षेत्र खोज्दै दाहाल

सबैभन्दा धेरै ९ जिल्लाबाट संयोजक पुष्पकमल दाहाल उम्मेदवार सिफारिस भएका छन् ।

पुस २०, २०८२

कान्तिपुर संवाददाता

NCP candidates are being recommended in droves, Dahal is looking for a safe area

What you should know

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष उम्मेदवार सिफारिसको चाङ लागेको छ ।

केन्द्रीय कार्यालय प्रमुख सचिव गणेशमान पुनले जिल्लाबाट प्रत्यक्ष उम्मेदवारको सिफारिस आउने क्रम जारी रहेको बताए । ‘जिल्लाहरुबाट प्रत्यक्ष उम्मेदवारको सिफारिस आइरहेका छन्,’ उनले भने, ‘सबै जिल्लाबाट सिफारिस आइसकेपछि उम्मेदवार छनोट प्रक्रिया सुरु होला ।’

सिफारिस भएकामध्ये सबैभन्दा धेरै ९ जिल्लाबाट संयोजक पुष्पकमल दाहालको सिफारिस आएको छ । गत आम निर्वाचनमा गोरखा-२ बाट निर्वाचित भएका उनी यसपटक उम्मेदवार हुने जिल्ला र क्षेत्र निश्चित भइसकेको छैन । उनी यसपटक सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा छन् । चितवन ३ बाट उनकी छोरी रेनु दाहालको मात्रै सिफारिस भएकाले उनी अरु नै क्षेत्रको खोजीमा छन् ।

गोरखा २ बाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई उठ्ने तयारी गरेपछि दाहाल चुनाव जित्ने क्षेत्रको खोजीमा छन् । नेकपा नेताहरुका अनुसार दाहालका लागि सबभन्दा सुरक्षित क्षेत्र रुकुम पूर्व मानिएको छ । हालसम्म रुकुमबाट अन्य दलका उम्मेदवारले प्रतिनिधिसभामा चुनाव जितेका छैनन् ।

हालसम्म प्रतिनिधिसभाका लागि दाहालको सिफारिस भएका जिल्लामा कालीकोट, नुवाकोट–१, सिन्धुली–२, रामेछाप, महोत्तरी–४, गोरखा–१, रोल्पा, रुकुम पूर्व र सुदूरपश्चिमको कैलाली–३ बाट छन् । कास्की-३ दाहालको जन्मस्थल हो । उनी अन्नपूर्ण गाउँपालिकाको लेवाडेमा जन्मिएर चितवन बसाइँसराइ गरेर गएका हुन् ।

उनी २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौं– १० र रोल्पा–२ बाट निर्वाचित भएका थिए । २०७० मंसिरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सिरहा-५ बाट निर्वाचित भए भने काठमाडौं–१० मा पराजित हुन पुगे । २०७४ मा उनी चितवन-३ बाट विजयी भएका थिए । २०७९ को आम निर्वाचनमा उनी गोरखा-२ बाट विजयी भएका थिए ।

नेकपा सहसंयोजक माधवकुमार नेपाल आगामी प्रतिनिधिसा निर्वाचनका लागि रौतहट-१ बाट एकल र काठमाडौं-२ बाट पनि सिफारिस भएका छन् ।

नेकपा नेताहरु भीम रावल अछाम–२, वर्षमान पुन रोल्पा, वामदेव गौतम प्युठान र बर्दिया-१, नारायणकाजी श्रेष्ठ सर्लाही-३, देव गुरुङ लमजुङ, प्रकाश ज्वाला सल्यानबाट सिफारिस भएका छन् ।

नेकपा प्रवक्ता अग्निप्रसाद सापकोटाले नेताहरुको उम्मेदवारीबारे टुंगो नभएको बताए । ‘अध्यक्षलगायत वरिष्ठ नेताहरु विभिन्न ठाउँबाट सिफारिस हुनुभएको छ । तर क्षेत्रको टुंगो लगाउने अझै समय बाँकी छ,’ उनले भने ।

कान्तिपुर

Link copied successfully