स्वतन्त्र लडेको भए महासचिवमा मेरै पक्षमा परिणाम आउन सक्थ्यो हाेला : ज्ञवाली

एमाले नेता प्रदीप ज्ञवालीले पार्टी बलियो बनाउने मिसनमा व्यक्तिको आकांक्षा केही पनि नभएको बताएका छन् ।

पुस २०, २०८२

सन्तोष महतारा

If I had contested independently, the results could have been in my favor for the post of General Secretary: Gyawali

What you should know

गुल्मी — नेकपा एमालेका नेता प्रदीप ज्ञवाली केही दिनअगाडि भएको एमाले महाधिवेशनमा केन्द्रीय सदस्यमा मात्रै चुनाव लडे । केन्द्रीय सदस्यमा भारी मतले चुनाव जितेका उनी महासचिवमा आकांक्षी थिए ।

संस्थापन ओली पक्षबाट महासचिवमा शंकर पाेखरेल नै दाेहाेरिएपछि उनलाई उपाध्यक्षमा राखिएको थियो । यद्यपि उनले शक्तिशाली महासचिव पद छाडेर उपाध्यक्षमा चुनाव लड्न मानेनन् । त्यसपछि उनले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका थिए ।

आइतबार प्रेस चाैतारी गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै नेता ज्ञवालीले एमालेलाई बलियो बनाउनुपर्छ भन्नेमा मात्रै आफ्नो ध्यान रहेको बताए । 'स्वतन्त्र रुपमा चुनाव लडेको भए महासचिवमा मेरो नै पक्षमा परिणाम आउन सक्थ्यो हाेला,' उनले भने, 'मैले त्यो बाटाे नराेजेर पार्टी बलियो बनाउने बाटो राेजेकाे हुँ ।'

उनले एमाले महाधिवेशनका क्रममा आफ्ना तस्बिर एआईबाट सिर्जित गरेर भ्रम सिर्जना गरेको पनि बताए । उनले त्यसपछि पुनः त्यही प्रसंगमा समग्र राष्ट्रकाे संकटकाे अगाडि पार्टीको समस्या पनि सानो हुने बताए । उनले भने, 'पार्टी बलियो बनाउने मिसनमा व्यक्तिको आकांक्षा त्यो भन्दा पनि सानो हो ।'

उनले गुल्मीको सन्दर्भमा तीन रणनीतिक सडक पूर्वाधार गुल्मीको सुरुवाती रिडी खण्डबाट आफ्नो पहलमा काम भइरहेको र फलोअप गरिरहेको बताए । उनले कालीगण्डकी करिडाेर अन्तिम चरणमा, मदनभण्डारी राजमार्ग खण्डको काममा तीव्रता र रिडी-खर्ज्याङ-बलकाेट खण्डमा पनि काम भइरहेको बताए । यद्यपि विभिन्न कारणले आफ्नो क्षेत्र गुल्मी-१ ले विकासको हिसाबले तीन वर्षको समय विभिन्न कारणले यत्तिकै गुमाएको समेत टिप्पणी गरे ।

उनले देश संकटमा रहेको भन्दै लाेकतन्त्रका पहेरदार दल र हालको संविधान बनाउन भूमिका खेल्नेहरु एकठाउँमा हुनुपर्ने धारणा राखे । जुन चुनावी तालमेल र सिट बाँडफाँडकाे कुरा नभएर देशको संकटको समाधान हुनुपर्ने उनले बताए ।

सन्तोष

Link copied successfully