रास्वपामा चार पदाधिकारी थप

उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता थप

पुस २०, २०८२

कान्तिपुर संवाददाता

Four more office bearers added to RSP

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी संख्या थप हुने भएको छ । रास्वपा केन्द्रीय समितिको आइतबारको बैठकले उपसभापतिसहित ४ पदाधिारी थप गर्ने निर्णय गरेको हो । 

रास्वपाले पार्टी एकीकरण र विस्तारका लागि पदाधिकारी संख्या थप गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

रास्वपाको निर्णयअनुसार उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता पद एक-एक वटा थप गरिएका हुन् । 'पार्टी एकीकरण एवं विस्तारको क्रममा पार्टीले यसअघि गरेको सम्झौता कार्यान्वयनको लागि पार्टी विधान संशोधनमा समावेश हुने गरी पदाधिकारीको संख्या थप गर्ने' निर्णय भएको प्रवक्ता झाले जानकारी दिए ।

हाल रास्वपामा दुई उपसभापति छन् । उज्यालो नेपाल पार्टीसँग एकता गरेर कुलमान घिसिङलाई उपसभापति बनाउने सहमति गरिएको थियो । उक्त सहमति कार्यान्वयन गर्नका लागि उपसभापति पद थप गरिएको हो ।

त्यस्तै, हाल रास्वपामा एक महामन्त्री छन् । कबिन्द्र बुर्लाकोटी महामन्त्री पदमा रहेको अवस्थामा एक महामन्त्री पद थपेर दुई बनाइएको हो । 

रास्वपामा हाल १ सहमहामन्त्री विपिन आचार्य छन् । सुमना श्रेष्ठले पार्टी छोडेपछि सहमहामन्त्री पद रिक्त छ । एक सहमहामन्त्री थप गरेसँगै रास्वपामा तीन सहमहामन्त्री हुनेछन् । 

रास्वपामा प्रतिभा रावल र रमेश प्रसाईंं सहप्रवक्ता छन् । अब एक थपेर सहप्रवक्ता संख्या तीन पुर्‍याइने भएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully