चौतर्फी आलोचनापछि रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने बढ्दै

हालसम्म टासी लाक्पा शेर्पा, त्रिशला गुरुङ, आशिफ शाह र सचिन ढकालले उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् ।

पुस १९, २०८२

कान्तिपुर संवाददाता

Withdrawal of names from RSVP's proportional list on the rise after widespread criticism

What you should know

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार सूचीमा समावेश व्यक्तिहरूले नाम फिर्ता लिने क्रम बढेको छ।

प्रतिनिधिसभा निर्वाचनको समानुपातिक बन्दसूचीमा परेका पर्वतारोही टासी लाक्पा शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आशिफ शाह र उद्योगी चन्द्र ढकालका छोरा सचिन ढकालले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन् ।

रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा विभिन्न क्षेत्रका चर्चित अनुहार पनि समेटिएका थिए । पार्टीभित्र र बाहिर नातावाद तथा पारिवारिक सम्बन्धलाई लिएर आलोचना चर्किंदै आएको थियो । सोही पृष्ठभूमिमा चारै जनाले सूचीबाट नाम हटाउने निर्णय गरेको बताएका छन् ।

आशिफ शाह

मुस्लिम पुरुष क्लस्टरको समानुपातिक सूचीमा नम्बर १ मा रहेका शाहले सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिएको घोषणा गरे । उनले जनभावना र पार्टी पंक्तिबाट आएको प्रतिक्रियालाई सम्मान गर्दै सूचीबाट नाम हटाएको उल्लेख गरेका छन् । शनिबार फेसबुकमा उनले लेखेका छन्, 'जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्‍याएर समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो म रोज्न सक्दिनँ ।'

राजनीतिमा रुचि भए पनि सक्रिय दलगत राजनीतिमा तत्काल प्रवेश नगर्ने बताउँदै शाहले आगामी प्रत्यक्ष निर्वाचनमा काठमाडौं–५ बाट उम्मेदवारी दिने इच्छा कायम रहेको जनाएका छन् । उनले प्रत्यक्ष चुनावमार्फत प्रतिस्पर्धा गर्ने योजनामा आफू दृढ रहेको पनि बताएका छन्।

सचिन ढकाल

ढकाल फुटबल चितवन क्लब (एफसी चितवन) का अध्यक्ष हुन् । खेलकुदका साथै पर्यटन तथा हस्पिटालिटी व्यवसाय लागेका उनलाई रास्वापाले समानुपातिक सूचीमा राखेको थियो । उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको कोटाबाट सूचीमा परेका हुन् । उनको नाम खस आर्यको २ नम्बर सूचीमा छ ।

रास्वपासँग एकीकरण गर्नुअघि मेयर शाहले गरेको शृंखलाबद्ध भेटघाटका क्रममा ढकालसँग पनि कुराकानी गरेका थिए ।ढकालले आज बिहान फेसबुकमार्फत आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका हुन् । 'उद्यमशीलताको प्रवर्धनमार्फत सामाजिक रुपान्तरण र मुलुकको विकास आवश्यक रहेको तथा यसका लागि नवयुवाहरु अघि सरिरहेको वर्तमान परिवेशमा मलाई पनि समानुपातिक निर्वाचनको सूचीमा समावेश गरेकामा पार्टीका नेतृत्वप्रति हार्दिक आभार व्यक्त गर्दछु,' उनले भनेका छन्, 'तथापि, नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यसपटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु ।'

आगामी दिनमा राष्ट्र र समाजको हितमा राजनीतिक जिम्मेवारी वहन गर्न आवश्यक परेमा सधैं तत्पर रहेको प्रतिबद्धता पनि उनले जनाएका छन् ।

त्रिशला गुरुङ

गायिका तथा चिकित्सक डा. त्रिशला गुरुङले पनि समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने निर्णय गरेकी छन् । सिफारिस पाउनु ठूलो सम्मान भए पनि आत्ममूल्यांकनपछि राजनीतिक पदमा नजाने निष्कर्षमा पुगेकाले नाम फिर्ता लिएको उनले बताइन् । फेसबुकमार्फत उनले लेखेकी छन्, 'कलाकारिता र स्वास्थ्य सेवामार्फत समुदायका लागि योगदान दिन प्रतिबद्ध छु। राजनीतिक पदमा नरहँदा पनि समाजको आवाजका रूपमा निरन्तर काम गर्नेछु।'

टासी लाक्पा शेर्पा

फोर्टिन पिक्स एक्सपिडिसनका सीईओसमेत रहेका पर्वतारोही टासी लाक्पा शेर्पाले गत पुस १७ गते फेसबुकमार्फत उम्मेदवारी फिर्ताको घोषणा गरेका थिए । उनले दलगत राजनीतिमा रुचि नराख्ने उल्लेख गर्दै लेखेका छन्, 'म आफ्नै कर्ममार्फत देशका लागि योगदान दिन चाहन्छु। साधारण नागरिककै हैसियतमा राष्ट्र उन्नतिमा भूमिका खेल्नेछु ।'

शेर्पाले आगामी निर्वाचनका लागि सबै दल तथा योग्य उम्मेदवारलाई शुभकामना पनि दिएका छन् । टासी रास्वपामा हालै प्रवेश गरेका टासी मिङ्मा शेर्पाका भाइ हुन्। केही दिनअघि मात्रै मिङ्मा औपचारिक रूपमा रास्वपामा आबद्ध भएका थिए। भाइ टासीले दाजुको राजनीतिक यात्रामा सफलताको शुभकामना दिएको भिडियोसमेत सार्वजनिक भएको थियो।

कान्तिपुर

Link copied successfully