शेखर कोइरालाले लिए पार्टीभित्रको पछिल्लो अवस्थाबारे जानकारी

विशालनगरस्थित डा. कोइरालाको सम्पर्क कार्यालयमा पार्टीभित्रको द्वन्द्व, विशेष महाधिवेशन र अनुशासन कारबाहीबारे विस्तृत छलफल गरिएको हो।

पुस १९, २०८२

कान्तिपुर संवाददाता

Shekhar Koirala takes stock of the latest situation within the party

काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीभित्रको पछिल्लो अवस्थाबारेमा काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिलगायत नेताहरूसँग अन्तर्क्रिया गरी राय लिएका छन्।

विशालनगरस्थित डा. कोइरालाको सम्पर्क कार्यालयमा वर्तमान विषम परिस्थितिको समुचित निकास के हुन सक्छ, राष्ट्रमा देखिएको संकटको समाधान कसरी गर्न सकिन्छ र पार्टीभित्र देखिएको द्वन्द्वलाई सुरक्षित अवतरण कसरी गराउन सकिन्छ भन्ने विषयमा विस्तृत छलफल भएको हो ।

त्यसैगरी कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको हालैको निर्णय तथा महामन्त्रीहरूले उठाएको विशेष महाधिवेशनको प्रस्तावसँग कसरी समन्वय गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो। आगामी आम निर्वाचनमा पार्टीलाई एकताबद्ध रूपमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा दुवै पक्षलाई एक सूत्रमा ल्याउने उपायहरूबारे सहभागीहरूले धारणा राखेका थिए।

बैठकमा हालै पार्टीको अनुशासन समितिले गरेका कारबाही फुकुवा गर्नुपर्ने विषयमा समेत जोडदार माग उठेको थियो। कारबाहीमा परेका नेताहरू जुन-जुन पदमा थिए, उनीहरूलाई सोही पदमा कायम राख्नुपर्नेमा सहभागीहरूको जोड थियो।

आगामी आम निर्वाचनमा एक भएर अघि बढ्नु समयको माग र आवश्यकता भएको निष्कर्षमा उपस्थित सबै नेताहरू एकमत देखिएका थिए।

कान्तिपुर

Link copied successfully