संसद् पुनःस्थापना हुँदैन, यही सरकारले निर्वाचन सम्पन्न गराउँछ : दाहाल

नयाँ जनादेश लिएर प्रतिनिधिसभा गठन गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले राजनीतिक संकटको समाधान पनि त्यही बाटोबाट सम्भव हुने बताएका छन् ।

पुस १९, २०८२

दीपेन्द्र शाक्य

Parliament will not be restored, this government will hold elections: Dahal

What you should know

संखुवासभा — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले अब देशमा सर्वपक्षीय तथा सर्वदलीय सरकार बन्ने सम्भावना नरहेको दाबी गरेका छन् ।

संसद् पुनःस्थापना पनि नहुने स्पष्ट पार्दै उनले वर्तमान राजनीतिक निकासको एकमात्र विकल्प निर्वाचन भएको बताए । प्रेस सेन्टरले शनिबार खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै दाहालले सबै राजनीतिक दल अब निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिए। उनले फागुन २१ गते नै प्रतिनिधिसभा निर्वाचन हुने दाबी गरे । निर्वाचन यही सरकारले सम्पन्न गराउने उनले बताए।

दाहालले पछिल्लो समय निर्वाचन नहुने हो कि भन्ने शंका र भ्रम फैलाइएको प्रति आपत्ति जनाएका छन्। सबै दलहरूले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाइसकेकाले चुनाव नहुने विषयमा कुनै आशंका गर्न नपर्ने उनको भनाइ छ । 'निर्वाचनको सम्पूर्ण प्रक्रिया अघि बढिसकेको छ, अब चुनाव रोकिने कुनै आधार छैन,' उनले भने।

उनले जनताबाट नयाँ जनादेश लिएर प्रतिनिधिसभा गठन गर्नुपर्ने आवश्यकता औंल्याउँदै वर्तमान राजनीतिक संकटको समाधान पनि त्यही बाटोबाट सम्भव हुने बताए। संविधान संशोधनका सन्दर्भमा बोल्दै उनले निर्वाचनपछि पहिचानका सवाल, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था तथा वर्तमान निर्वाचन प्रणालीसँग सम्बन्धित विषयहरूमा आवश्यक परिमार्जन गरिने स्पष्ट पारे। 'निर्वाचनपछि प्राप्त जनमतका आधारमा संविधानलाई अझ परिष्कृत र व्यावहारिक बनाइनेछ,' उनले भने।

दाहालले युवा पुस्ता, विशेषगरी ‘जेनजी’ पनि निर्वाचनको पक्षमा रहेको दाबी गर्दै लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न चुनाव अपरिहार्य रहेको बताए। उनले निर्वाचन सफल पारेर राजनीतिक स्थायित्व, समृद्धि र समावेशी लोकतन्त्रको दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

नेकपाको एकता घोषणा कार्यक्रममा सहभागी हुन दाहाल र सहसंयोजक माधवकुमार नेपाल खाँदबारी आएका थिए। 

दीपेन्द्र

Link copied successfully